काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आशंका गरेको छ ।

बिहीबार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने भएपछि सरकारको गतिविधि हेर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेजस्तो देखिएको बताए ।

‘यसबारेमा हामीले गम्भीरतापूर्वक अध्ययन गर्दैछौँ । अध्ययन गरेर हाम्रो धारणा सार्वजनिक गर्छौँ । तर, हाम्रो प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर सरकार उद्धत भएको छ कि ?’, उनले सामाजिक सञ्जाल नियमनको बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको हो कि भन्ने लागेको बताए ।