ललितपुर । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसलाई समर्थन गर्नुको विकल्प नभएको बताएका छन्।

पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सोहीकारण एक अर्कालाई समर्थन गर्दै अघि बढेको बताएका हुन्।  

'कांग्रेस र एमालेका अगाडि समर्थन गर्नुको अरु विकल्प छैन।, कि एउटाले समर्थन गर्छ, कि अर्कोले,' ओ‌लीले भने।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जादुगर नम्बर छ भन्ने भ्रम अहिले तोडिएको बताए।

'हामीसँग जादुयी नम्बर छ भन्ने भ्रम पर्न थालेको थियो- म्याजिक नम्बर। जादु भनेको जादु हो नि। यही जादु आफ्नो हातमा छ भन्ने केही मान्छेलाई भ्रम परेको थियो,' उनले थपे, 'तर, एमाले त्यो १४ महिनाको अवस्था एमालेले फेरेको छ। देशमा अराजनीतिक वेथिति फैलिएको थियो। त्यो नियन्त्रणमा आएको छ। हाम्रो पार्टी लोकतन्त्रको राजका लागि लडेको पार्टी हो। यसको रक्षाका लागि लड्न,ट्याक्टिकल मुभ धरै हुन्छ।'  

साेही अवसरमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय नभएको बताएका छन्। विद्या भण्डारीको सदस्यताको विषयमा भइरहेको टिकाटिप्पणीलाई लक्षित गर्दै उक्त प्रश्नहरू विधिको प्रश्नसँग सम्बन्धित नभएको बताएका हुन्। 

'विधान महाधिवेशनसँग विधिका प्रश्नसँग सम्बन्धित छैनन्। ति प्रश्नहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन्,' विद्याको विषयलाई लक्षित गर्दै उनले भने, 'सचिवालयमा, स्थायी कमिटी, पोलिट ब्युरोले छलफल गर्दै लानेछ। विधान महाधिवेशनलाई विधान महाधिवेशनकै रुपमा अघि बढाउनेछौँ। विषय केन्द्रित भएर यस महाधिवेशनमा प्रस्तुत हुनेछौँ।'