
काठमाडौँ । इन्द्रजात्राको अवसरमा शुक्रबार काठमाडौंको बसन्तपुरस्थित तलेजु भवानी मन्दिर अगाडि कुमारी पूजा गरिएको छ। पूजाअन्तर्गत नेवार समुदायकी ५०४ जना बालिकाहरूलाई जीवित देवी कुमारीको रूपमा सजाएर सामूहिक पूजा गरिएको हो।
कुमारी पूजा गर्दा तलेजु भवानीको कृपा प्राप्त हुने र बालिकाहरू देवीको संरक्षणमा रहने जनविश्वास रहिआएको छ। भदौ १९ गते बिहीबारदेखि इन्द्रजात्रा सूरू भएको हो। काठमाडौं दरबार क्षेत्रमा इन्द्रदेवको प्रतीक मानिने ‘यःसिँ’ (इन्द्रध्वज) डाँठमा इन्द्रको ध्वजा ठद्याएर आठ दिन लामो यो पर्वको सुरुवात गरिएको हो।
उक्त पर्वमा तीन दिनसम्म गणेश, भैरव र कुमारीका रथहरूलाई काठमाडौँका विभिन्न सडकमा परिक्रमा गराइन्छ। यसैगरी मजीपाँ लाक्हे नाच, पुलु किसीको र विभिन्न देवदेवताका झाँकी प्रदर्शन पनि इन्द्रजात्राका प्रमुख आकर्षण मानिन्छन्।







Facebook Comments