
काठमाडौं । जग्गाको हालसाबिक गरी नयाँ पूर्जा बनाइदिने भन्दै सेवाग्राहीबाट घुस लिने नापी कार्यालय कलंकीका करारमा कार्यरत कार्यालय सहयोगीलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
नापी कार्यालय कलंकीको ३ नम्बर नापी टोली, पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्रबहादुर कुँवरलाई सेवाग्राहीसँग १३,००० रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ मा रहेको जग्गाको हालसाबिक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि कुँवरले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा कुँवरले भूमिसुधार तथा मालपोत कार्यालय, कलंकी, काठमाडौंमा दर्ता स्रेस्ता कायम रहेको सोही जग्गाको हालसाबिक गरी गराई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन आवश्यक सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुसबापत १३ हजार रुपैयाँ माग गरी लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार अख्तियारले कुँवरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुर गरेको ठहर गर्दै उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सोही ऐनको दफा ३ को उपदफा १ को क बमोजिम कैद र दफा ३ को उपदफा १ अनुसार बिगो १३ हजार रुपैयाँ बराबरको जरिवानाको सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको हो ।







Facebook Comments