
काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे चीनसँग निःसंकोच कुरा राखेको बताएका छन्।
नेकपा (एमाले)को विधान महाधिवेशनको शुक्रबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लिपुलेकको सन्दर्भमा हामीले जहाँ पुग्दा खेरी पनि, जहिले पनि, जुनसुकै ठाउँमा पनि आफ्नो राष्ट्रिय हितलाई कुनै कम्प्रोमाइज नगरीकन उठाउनुपर्ने ठाउँमा उठाउने गरेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘दृष्टिकोण राख्नुपर्ने ठाउँमा राख्छौँ, बेझिझक राख्छौँ, राष्ट्रिय हितको पक्षमा बोल्छौँ।’
यस क्रममा चीन भ्रमणमा पनि कुरा राखेको उनले बताए। उनले भने, ‘यसपटक म चीन जाँदा चीनका महामहिम राष्ट्रपति सी जिनफिङसँग द्विपक्षीय औपचारिक वार्तामासमेत लिपुलेकका सम्बन्धमा भारत र चीनबिच भएको सम्झौता हाम्रो भूमिमाथि हाम्रो भूमिबाट दुइटा देशले व्यापार आदानप्रदान गर्ने भन्ने सम्झौता गर्न मिल्दैन, हाम्रो असहमति स्पष्ट ढंगले राखेको छु।’
यो कुरा प्रस्ट रेकर्डमा रहेको पनि प्रधानमन्त्री ओलीले बताए। ‘यो कुरा रेकर्डेड छ। यो अडिओमा छ, भिडिओमा छ, यो नोटहरूमा छ, टिपोटहरूमा छ,’ उनले भने।
चिनियाँ राष्ट्रपति जिनफिङले जवाफ दिँदा चीन नेपालको सार्वभौमसत्ताको पूरा सम्मान गरेको प्रतिबद्धता जनाएको पनि उनले बताए। ‘यसबाट तपाईँहरूलाई जुन आशङ्का रहेको छ, त्यसमा हाम्रो ध्यान छ, नेपालको सार्वभौमसत्ता तलमाथि पर्न दिइने छैन, सम्पूर्ण रुपमा समर्थन गर्दर्छौँ। यो विषय तपाईँहरू नेपाल र भारतबिचको सीमाको विषय हो, तपाईँहरू वार्ताद्वारा कूटनीतिक माध्यमबाट समाधान गर्नुहुन्छ भन्ने विश्वास गर्दछौँ। त्यसो गर्नुस् भन्ने धारणा छ,’ चिनियाँ राष्ट्रपतिको भनाई उधृत गर्दै प्रधानमन्त्री ओलीले भने।
त्यसबारे भारतसँग पनि कुरा गर्ने प्रधानमन्त्री ओलीले बताए। ‘यस सम्बन्धी मुख्य कुरा गर्नुपर्ने त भारतसँगै हो, संवादको माध्यमबाटै हो,’ उनले भने। यस विषयमा नेपाललाई तेस्रो देशलाई बिचमा ल्याउन नखोजेको पनि उनले बताए। उनले भने, ‘हाम्रो भूमिमा दुई देशले सम्झौता गरिसकेपछि चीन पनि तेस्रो देश रहेन। हस्ताक्षर गर्नेसँगै कुरा गरेको हो। यसमा केही तल माथि भयो नठान्नुहोला।’
ओलीले २०८४ को आम चुनावमा एकल बहुमत ल्याउने दाबी गरे । कांग्रेस र एमालेजस्ता बलियो शक्तिहरू नै सरकारको नेतृत्वमा भएकोले अबको निर्वाचनमा कसैलेपनि धाँधली गर्न नसक्ने उनको भनाइ छ । उनले पार्टी पँक्तिलाई पार्टीको एकल बहुमत आउनेगरि जनताको बीचमा काम गर्न निर्देशन दिए ।
उनले भने, ‘हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन। हामी बहुमत ल्याउन सक्छौँ।’ ओलीले नेकपा (माओवादी केन्द्र) ले ३२ नम्बरको जादु छ भन्दै आफूहरुलाई राजनीतिको किनारामा राख्न खोजेको भएपनि १४ महिनाअघि त्यो जादुबाट माओवादीलाई मुक्त गराईदिएको टिप्पणी गरे ।







Facebook Comments