
काठमाडौँ । रेशम चौधरीलाई थुनामा राख्न सर्वोच्चले आदेश दिएको पत्र अहिलेसम्म सर्वोच्च अदालतको कुनै ढड्डामा नभेटिएको बताइएको छ। सर्वोच्च अदालतका विभिन्न शाखाहरूमा त्यो पत्रको खोजी गर्दा कतै नभेटिएपछि अहिले सर्वोच्चका कर्मचारीहरूको बैठक बसिरहेको बताइएको छ ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलजीवन बिताइरहेका चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले २०८० को गणतन्त्र दिवसका अवसरमा बाँकी कैद कट्टा गरी माफी दिएपछि थुनामुक्त भएका थिए ।
त्यसयता खुला रहेका चौधरी बुधबार एकाएक प्रज्ञाप्रतिष्ठानमा आयोजित पार्टी एकता कार्यक्रमस्थलबाट पक्राउ परे । प्रहरीले उनलाई सर्वोच्च अदालतको मुद्दा तथा रिट शाखाको पत्रअनुसार पक्राउ गरिएको बताएको छ । उनी अहिले डिल्लीबजार कारागार पुर्याइएका छन् ।
तर, उनलाई पक्राउ गर्नू भनी सर्वोच्चबाट प्रेषित पत्रमा भने आशंका उब्जिएको छ । सर्वोच्च अदालत प्रशासनले यो विषय कुनै औपचारिक जानकारी दिएको छैन । तर, चौधरीलाई थुनामा राख्नू भन्ने कुनै अदालतबाट आदेश नभएकाले यो आशंका उब्जिएको हो । त्यसो त चौधरीलाई पक्राउ गर्नू भन्ने पत्रमा योगराज ढकाल सम्बन्धी भएको फैसलाको नजिरअनुसार उनलाई पक्राउ गर्नू भन्ने उल्लेख छ । अर्का व्यक्तिसँग सम्बन्धित फैसलामा कार्यान्वयन भने अर्को व्यक्ति पक्राउ गरेर गरिएपछि सर्वोच्च अदालतमा हंगामा भएको छ ।
महान्यायधिवक्ता रमेश बडालले चौधरीबारे मुद्दा विचाराधीन रहेकाले यो पत्र कसरी गयो भन्ने विषयले आश्चर्यमा परेको बताए । उनले यो विषयमा बुझ्ने काम भइरहेको बताए ।
यसैबीच सर्वोच्च अदालतबाट रेशमलाई छुटाउन अर्को पत्र पठाउने तयारी भएको छ । अनधिकृत पत्रका आधारमा चौधरी पक्राउ परेपछि सर्वोच्चले फेरि अर्को पत्र पठाई उनलाई थुनामुक्त गराउने तयारी गरेको छ ।







Facebook Comments