काठमाडाैँ । स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् ।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल बताउँछन् ।

निजामती सेवामा रहेका करिब ८५ हजार कर्मचारीका लागि यो दिवस ठूलो उत्सव र कदर गर्ने दिनका रूपमा लिने गरिएको छ । सेवा दिवस मनाउन मुख्यसचिवको अध्यक्षतामा गठित मूल समारोह मातहतका उपसमितिबाट स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्‍याली, दीपावलीजस्ता कार्यक्रम तय गरिएको छ ।

यस दिवसका उपलक्ष्यमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा राजधानीमा हुने मूल समारोहमा वर्षभरमा राम्रो काम गर्ने कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वाेत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जना निजामती पुरस्कारको समेत घोषणा गरिने छ । अघिल्लो वर्ष घोषणा गरिएका कर्मचारीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।

केही कर्मचारीले भ्रष्टाचार र अनियमित कार्य प्रदर्शन गरेका तथा कतिपय राजनीतिज्ञले समेत जनहितका लागि आफूले गर्न चाहेको काम कर्मचारीकै असहयोगमा अघि बढ्न नसकेको भन्ने हल्का टिप्पणीले समग्र सेवाप्रति गलत प्रचार हुन पुगेको निजामती कर्मचारीको बुझाइछ ।