वीरगञ्ज । हैजा संक्रमण देखिएको दुई साताभन्दा बढीको अवधिमा वीरगन्जमा संक्रमण स्थिर रहेको छ भने पोखरियामा बिस्तारै उकालो लाग्दै छ ।

जिल्लाको ग्रामीण भेगका बिरामीको उपचार गन्तव्य पोखरिया अस्पतालमा २४ घण्टायता २ हैजा संक्रमित थपिएका छन् । पोखरिया अस्पतालमा मात्रै उपचारार्थ आएका हैजा संक्रमितको संख्या अब १६ पुगेको छ ।

वीरगन्जमा भने २४ घण्टायता हैजा संक्रमित थपिएका छैनन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हाल पनि वीरगन्जमा शनिबारजत्ति नै संक्रमितको संख्या १ सय ९२ नै रहेको छ ।

अब पोखरिया र वीरगन्जमा गरी हैजा संक्रमितको कुल संख्या २ सय ८ पुगेको छ । तीमध्ये हाल १० संक्रमित उपचाररत छन् । १ सय ९८ डिस्चार्ज भई घर गइसकेका छन् । तथ्यांकअनुसार वीरगन्ज र पोखरियामा हालसम्म झाडापखाला र हैजाका १ हजार १ सय १६ बिरामी उपचारार्थ अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा भर्ना भएकामा तीमध्ये १ हजार ३७ उपचारपछि घर फर्किएका छन् । 

बाँकी उपचाररत ७९ मध्ये ५ आईसीयूमा, १ एचडीयूमा र ७३ जनरल वार्डमा भर्ना छन् । २४ घण्टामा झाडापखाला र हैजाका ३९ नयाँ बिरामी थपिएका छन् ।