
काठमाडौं । करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ । सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो । हिजो शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए । तीनै सहमतिका विषय मन्त्रिपरिषद्बाट पारित भएका थिए ।
आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आबाट नै विद्यार्थी भर्ना सुरु हुने उनले बताए । करिब एक महिनादेखि अलपत्र परेको शैक्षिक गतिविधि अब सुचारु हुने भएको छ । शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको मन्त्री पन्तले बताए ।
शिक्षकहरूसँग भएका ९ बुँदे सहमति यसप्रकार छन्—
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा; काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
२. अस्थायी प्रकृतिका शिक्षक; राहत, अस्थायी (करार) साविक उमावि, सिकाई अनुदान, प्राविधिकधार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने।
३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने।
४. आगामी आर्थिक वर्ष २०८२/०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सेवा ग्रेड संख्या र रकम कायम गर्ने।
५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार, साविक उमावि, प्राविधिक) सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने।
६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षण तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने।
७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने।
८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।
९. निम्न माध्यमिक तह प्राथमिक श्रेणीको प्राथमिक श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने।







Facebook Comments