काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् । माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले च्यातेका छन् ।

भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमा सरकारले प्रतिबन्ध लगाएको विरोधमा स्वस्स्फूर्त सडकमा उत्रिएका युवाहरुको जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ ।

प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् । उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरुले राष्ट्रभक्ति गाएका छन् । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिन्छन् ।