काठमाडौं । बानेश्वरमा भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अस्वाभाविक बल प्रयोग गरेर गोली चलाएपछि ३ जना प्रदर्शनकारीको निधन भयो ।

सामान्य प्रदर्शनको समेत अनुगमन गर्ने र मानव अधिकारको पालनाको अनुगमन गर्ने राष्ट्रिय मानव अधिकार आयोग भने प्रहरीको हिंसात्मक बल प्रयोगमा मौन छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफू कार्यालयबाट बाहिर रहेको र अपडेट हुन नपाएको प्रतिक्रिया दिए । ‘म त भाषा आयोगको कार्यक्रममा आएको थिएँ, यहीं रोकिएर बसेको छु,’ उनले भने, ‘आयोगका साथीहरू परिचालन हुनुभएको छ, उहाँहरूसँग बुझ्नुस् न ।’

बिहानैदेखि आन्दोलन सुरु भएको र प्रहरीले बल प्रयोग गर्न थालेपछि नागरिकको मानव अधिकार रक्षाका लागि तम्तयार हुनुपर्ने आयोगको नेतृत्व नै मौन देखिएको हो । अध्यक्ष मगरले ‘दुई जनाको मृत्यु भएको खबर भर्खरै थाहा पाए पनि अहिलेसम्म आयोगको आफ्नो धारणा बनिनसकेको बताए ।

उनले भने, ‘हाम्रो टोली खटिएको छ, प्रवक्ता छन्, उनीसँग बुझ्नुस् न ।’