काठमाडाैँ । सिंहदरबारभित्र निर्माणाधीन नयाँ गृह मन्त्रालयको भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी भइरहेको छ। मुख्यसचिव एकनारायण अर्याल र सचिवहरूको टोलीले अध्ययन गरेको क्रममा यस विकल्पमा चर्चा भएको एक सचिवले बताए।

उनका अनुसार, “अन्य भवनहरू पनि जाँच गरियो, तर कुनै उपयुक्त विकल्प देखिएन। निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवन एक सम्भावित विकल्प हुनसक्छ,” उनले भने। बुधबार आन्दोलनकारीको निशानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो। सो क्रममा अधिकांश भवनमा आगजनी र क्षति भएको छ। मन्त्रालयका कागजात जलाइएका छन् भने सवारीसाधनमा व्यापक क्षति पुगेको छ।

मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू कार्यालयमा फर्किएपछि व्यवस्थापन कसरी गर्ने भन्नेबारे आज मूल्यांकन गरिएको जानकारी दिए। उनले सिंहदरबारबाटै प्रशासनिक काम सञ्चालन गर्न तयारी भइरहेको पनि बताए।

यस्तै उनले नागरिकलाई सेवा प्रवाह निरन्तरता दिनका लागि पासपोर्ट, वैदेशिक रोजगार, इमिग्रेसन, कर संकलनलगायतका सेवा अनलाइन प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाइसकिएको बताएका छन् ।

त्यस्तै खानेपानी, बिजुली, टेलिफोन जस्ता आधारभूत सेवाहरू अवरुद्ध नहोस् भन्नका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको र आपूर्ति सहज बनाउन समेत पहल भइरहेको उनले बताए ।