
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भदौ २४ को लुटपाट, आगजनी र व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहारलाई आन्दोलन वा समाज परिवर्तन भनेर बुझ्न नसकिने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै नयाँ सरकार गठनको विषयलाई नयाँ प्रयोगको रुपमा टिप्पणी गरेका कोइरालाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने स्थिति रहेको बताए ।
'मुलुकभित्र उत्पन्न राजनीतिक परिस्थितिबारे हामी सबै जानकार नै छौं । मुलुक बेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ । देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको छ । हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ,' कोइरालाले भनेका छन्, 'भाद्र २४ गते आन्दोलनको आव्हान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१ औं शताव्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न सक्तैन।'
उक्त दिन विराटनगरमा रहेको कोइराला निवासमा समेत आगलागी भएको थियो। नेता कोइरालाले लोकतान्त्रिक योद्धाहरूको मन्दिरको रुपमा रहेको कोइराला निवासलाई खरानी बनाइएकोप्रति आपत्ति जनाएका छन्।
नेता कोइरालाले अब पार्टी र देश नवनिर्माणमा जुट्नुपर्ने आवश्यकता रहेको बताए । 'कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । विपी विचार मर्न सक्तैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिदैन । कोइराला निवासको खरानी विजवाट नुतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं,'कोइरालाको आह्वान छ।







Facebook Comments