
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले प्रतिकूल राजनीतिक परिस्थितिका बिच नयाँ प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको भन्दै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यद्यपि, उनले यो प्रक्रियाले केही गम्भीर संवैधानिक प्रश्नहरू खडा गरेको बताएका हुन्।
भिडियो सन्देशमार्फत आफ्नो धारणा राख्दै शर्माले ‘डक्ट्रिन अफ नेसेसिटी’ (आवश्यकताको सिद्धान्त) लाई संविधानको प्रक्रियाभित्र ल्याउन सकिने विकल्पमा पार्टीले राष्ट्रपति र सभामुखसमक्ष आग्रह गरेको खुलासा गरे। उनले संसद्मा नरहेको सदस्यलाई पनि निश्चित समय र दायित्व तोकेर राष्ट्रपतिले मनोनयन गर्न सक्ने प्रावधानको व्यवस्थापन गर्न सकिने धारणा राखेका थिए। तर, सो बाटोमा नगई प्रधानमन्त्री नियुक्त भएकोमा उनले केही असन्तुष्टि व्यक्त गरे।
महामन्त्री शर्माले हालैको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति कडा निन्दा गरेका छन्। विशेषगरी, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सर्वोच्च अदालत, संसद् भवन र अन्य व्यावसायिक प्रतिष्ठानहरूमा भएको क्षतिप्रति उनले दुःख व्यक्त गरे।
उनले भने, ‘जेन-जी पुस्ताले चाहेको थिएन कि देशको सर्वोच्च अदालत ध्वस्त होस्, न त संसद नै।’ उनले आन्दोलनमा घुसपैठ गर्ने र अवाञ्छित गतिविधिमा संलग्न सबैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन नयाँ सरकारसँग जोडदार माग गरे।
आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शर्माले समयमै हस्तक्षेप गर्न नसकेकोमा पार्टी आत्मालोचित रहेको बताए। उनले मृतकका परिवारलाई न्याय दिलाउन उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिए।
उनले भ्रष्टाचार नियन्त्रणका लागि पनि नयाँ सरकारसँग माग राखेका छन्। उनले भने, ‘सरकारले उच्चस्तरीय आयोग बनाएर २०४६ सालपछिका सबै नेता तथा जिम्मेवार व्यक्तिहरूको सम्पत्ति छानबिन गरी अनधिकृत सम्पत्ति राष्ट्रको ढुकुटीमा ल्याउनुपर्छ।’
पार्टीभित्रको आन्तरिक जीवन र विगतका अनुभवबारे बोल्दै शर्माले पार्टीको ‘राजनीतिमा परिवर्तन’ को आवश्यकता औंल्याए। उनले सभापति शेरबहादुर देउवालाई छैटौं पटक प्रधानमन्त्री बन्न नहुने भनी आफूले आग्रह गरेको र तीन ठूला दलका शीर्ष नेताहरूले संन्यास लिएर अभिभावक बन्नुपर्ने सुझाव दिएको कुरा पनि दोहोऱ्याए।
विगतमा कांग्रेसले गरेका राम्रा कामहरूको स्मरण गर्दै शर्माले प्रजातन्त्रको स्थापनादेखि शान्ति प्रक्रियासम्म पार्टीले खेलेको भूमिकाको बचाउ गरे। उनले पार्टीले केही गल्ती गरेको हुनसक्ने स्वीकार गर्दै, अब पश्चात्तापमा समय खेर फाल्नुभन्दा नयाँ परिस्थितिअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए।
यस्तो छ उनको भनाई :
नमस्कार! जय नेपाल।
प्रतिकूल राजनीतिक परिस्थितिको बीचबाट देशले नयाँ प्रधानमन्त्री प्राप्त गरेको अवस्था छ। तोकिएको कार्यभारलाई सफलतापूर्वक, सबलतापूवक सम्पादन गर्न उहाँ सक्नुहुनेछ, सक्नुपर्दछ। शुभकामना पनि दिन चाहन्छु।
तर यसका पछि केही गम्भीर संवैधानिक प्रश्न पनि छन्। ‘डक्ट्रिन अफ नेसेसिटी’ जो भनिन्छ, आवश्यकताको सिद्धान्त। हाम्रो आग्रह थियो सम्माननीय राष्ट्रपतिज्यूलाई कि त्यसलाई पनि संविधानको प्रक्रिया भित्र ल्याउन सकिन्छ। सम्माननीय सभामुखलाई पनि हामीले आग्रह गरेका थियौँ, जुन मात्रै भएबाट भए पनि जोडिएर, संसदमा नरहेको सदस्यलाई पनि विशिष्ट परिस्थितिमा निश्चित समयावधि र निश्चित दायित्व तोकेर राष्ट्रपतिले मनोनयन गर्न मिल्ने कुनै प्रावधानको व्यवस्थापन पनि गर्न सकिन्छ।
तर त्यो बाटोमा नहिँडिकन, त्यो प्रक्रियामा नगइकन अन्ततः देशले प्रधानमन्त्री पाएको अवस्था छ। यसका बारेको पक्ष विपक्षका विमति, सहमतिका मतहरु पनि हुन्छन् नै, हुनुपर्दछ नै। यो लोकतन्त्रको स्वाभाविक विषय पनि हो। नेपाली कांग्रेस पार्टीको हिजो नै हामी कार्य सम्पादन समितिको बैठक पनि जुम मार्फतबाट बस्यौँ। हाम्रा बीचमा यही प्रकृतिका धारणाहरु पनि रहे।
तर सँगैमा संविधानको सन्दर्भमा उपजेको प्रश्न सँगैमा फेरि उत्तिकै संयमता र जिम्मेवारीबोधका साथ हामी बीचमा यो पनि रह्यो कि हामीले फेरी पनि देशले सही मार्ग लिओस् भन्नका लागि संयम र परिपक्वताका साथ अग्रसर हुनुपर्छ।
नयाँ हुन्, पुराना हुन्, राजनीतिक दल या नेपालको राजनीतिमा प्रभाव राखिरहेका पछिल्लो समय ऊर्जाका साथ उदाएका जेन्जी पुस्ता हुन्, बौद्धिक क्षेत्र होस्, मिडिया होस्, सबै सँगको समन्वयका साथ देशले एउटा निष्कर्षमा, एउटा बाटोमा पुग्नेका लागि हामीले पनि भूमिका महत्त्वपूर्ण सँग निर्वाह गर्नुपर्छ भन्ने कुरामा हामी सहमत पनि रह्यौँ।
अहिलेको अवस्थामा आइपुग्दै गर्दाखेरि देशले साँच्चै ठूलो प्रतिकूलताको बाटो हिँडेको छ। पार्टीको एउटा जिम्मेवार सदस्यको रूपमा, स्वाभाविक छ, यो अवधिको बीचमा थुप्रै सक्रियता आन्तरिक रूपमा निर्वाह गर्नुपर्यो। सम्माननीय राष्ट्रपतिज्यूका केही धारणाहरू बनाउने कुरा, हाम्रो धारणालाई लबिङ गर्ने कुरा, पार्टीका साथीहरु सँग सम्पर्कमा रहेर नेपाली कांग्रेस पार्टीको धारणा दुईटा महामन्त्री मार्फतबाट सार्वजनिक रूपमा व्यक्त गर्ने कुरा, साथीहरुलाई ढाडस दिने कुरा, यी हाम्रो आन्तरिक जीवनका विषय थिए।
त्यो गर्ने कुरामा बढी व्यस्त रहँदै गर्दाखेरि लिखितम वक्तव्य मार्फत बाहिर आउँदै गर्दाखेरि कतिपय साथीहरुले चासो पनि राख्नुभयो कि विश्वप्रकाश शर्मा भिडियो मार्फत त बोलिरहेको छैन किन ? अहिलेको सञ्जालको समयमा, त्यो लेखिएका अक्षरमा भन्दा पनि देखिएको अनुहारका साथ गरिने कुरालाई मात्रै गरिए जस्तो पनि बुझ्ने एउटा हाम्रो प्रचलन पनि छँदैछ। म आन्तरिक रूपमा बढी व्यस्त पनि रहेँ, काम पनि गरेँ, काममा सक्रिय पनि भएँ। हिजो मात्रै पनि नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा पनि पुगेँ। कार्यालयमा जलेको ठाउँहरुमा पुगेर पुस्तकालय सम्म जलेको ध्वस्त भएको चित्रलाई पनि हेरेर साथीहरुलाई पनि त्यहाँ केही भेटेर फर्केँ।
हिजो नै सर्वोच्च अदालतको छेउमा, संसद भवनको छेउमा पुगिराखेर पनि त्यहाँ भएको क्षतिलाई परबाट नियाल्ने प्रयास गरेँ। त्यो क्षति जति दुखद छ, त्यो भन्दा ठूलो दुखद त पन्ध्र गतिका दिन भद्रेश्वरमा भएको होनहार युवाहरूको शहादत त्यो दुखद छ। हामी आत्मालोचित छौँ, वक्तव्य मार्फत पनि हामीले भन्यौँ कि समयमै हस्तक्षेप गर्न हामीले सकेनौँ। अरुलाई दोष लगाइराखेर मात्रै हाम्रो कर्तव्य पूरा हुँदैन। नेपाली कांग्रेस पार्टीका अर्का महामन्त्री गगन कुमार थापा र मेरो बीचमा संवाद हुँदै गर्दा, सल्लाह हुँदै गर्दा हामी त्यो निष्कर्षमा पनि पुग्यौँ।
त्यो दिन जे भएको छ, त्यो घटनालाई नयाँ बनेको सरकारले उच्च स्तरीय छानबिन बनाएर जो-जो दोषी हो, प्रत्येकलाई कारवाहीको कठघरामा लिएर आउनुपर्छ, हामीले अपील गरिसकेकै छौँ। जीवन गुमाएका ती होनहार युवाहरुको आत्माले स्वर्गमा शान्ति प्राप्त गर्न सक्ने गरि हामीले आगामी दिनमा काम गर्नु छ, त्यो सङ्कल्प पनि गर्नु छ। यो परिस्थितिको भोलिपल्ट, त्यो घटनाको भोलिपल्ट जे जस्तो ध्वंस भएको छ, के जेन्जी पुस्ताले चाहेको थियो कि देशको सर्वोच्च अदालत ध्वस्त होस्? कि त्यो मागेको थियो र? बिल्कुलै थिएन।
के जेन्जी पुस्ताको अपेक्षा थियो कि सबैको साझा थलोको रूपमा संसद ध्वस्त होस्? घोषित थियो र आन्दोलनमा त्यो ? बिल्कुलै थिएन। के जेन्जी पुस्ताले जति पनि व्यावसायिक प्रतिष्ठानहरु ध्वस्त भए, के त्यो अपेक्षा गरेको थियो र? जहाँ-जहाँ व्यापारिक प्रतिष्ठानहरु ध्वस्त भएका छन् नि, त्यहाँ निर सानो पसलको कर्मचारी भएर काम गर्दै गएकाहरूले प्राप्त गर्ने आय अब गुमेको छ। हजारौंको रोजगारी यो अवधिमा गुमेको छ, यो ध्वंसको कारण। त्यसैले जेन्जी पुस्ताको पनि अपेक्षा त्यो थिएन। त्यहाँ जो-जो घुसपैठ गरे, जो-जो गएर चाहिँ जेन्जीको नाममा अरु दलका मानिसहरु पनि गएर अरु विभिन्न अवाञ्छित तत्वहरु पनि जो घुसे, ती सबका बारेमा पनि नयाँ सरकारले छानबिन गरेर कारबाही गरिनुपर्ने कुरामा हामीले जोडदार सँग माग गरेका छौँ। फेरि पनि माग गर्न चाहन्छौँ।
भ्रष्टाचारको विषय सँग मुलुक आक्रान्त थियो नै। त्यसैले सरकारले उच्च स्तरीय आयोग बनाइराखेर ४६ साल पछाडिका अथवा अगाडिका पनि जोडेर सरकारमा पुगेका प्रत्येक या सरकारमा मन्त्रीका रुपमा नपुगेका विश्वप्रकाश जस्ता पार्टीको निश्चित जिम्मेवारीमा पुगेका सबैको नै सम्पत्तिलाई छानबिन गरेर अनधिकृत रूपमा प्राप्त गरेको जे जहाँ जसको भेटिन्छ, त्यसलाई जफत गरेर राष्ट्रको ढुकुटीमा ल्याउने गरी कानूनी प्रबन्ध मार्फतबाट अनि सजायको कानूनी कठघरामा उभिएर भोग्नु पर्ने सजायको लागि पनि नयाँ सरकार मार्फतबाट सुविचारित र संयमताका साथ कार्य हुनु पर्दछ। हामी त्यो पनि आग्रह गरिसकेका छौँ लिखित रूपमा, फेरी पनि म दोहोर्याउन चाहन्छु।
आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइहरु, यो राजनीतिमा कस्तो हुँदो रहेछ भने मैले अनुभूति गरेको, तपाईँ हामी सबैले अनुभूति गरेको। कतिबेला के लाग्दो रहेछ भने जे भइरहेको छ नि, ठिकै छ। यस्तै त हो नि, भइरहेकै छ, ठिकै भइरहेको छ, यसरी नै हुने हो। कसैलाई के लाग्दो रहेछ भने यो बेठिक भइरहेको छ र सम्पूर्ण रुपले ध्वस्त गर्नुपर्छ, अनि नयाँ सिर्जना हुन्छ। फेरि कसैलाई के लाग्दो रहेछ भने सम्पूर्ण रुपमा ध्वस्त पनि नगरौँ, तर क्रमशः क्रमशः रूपान्तरणको कुरा पनि जाउँ।
म सम्झिन्छु कि म नेपाली कांग्रेस पार्टीको महामन्त्री पदमा प्रतिस्पर्धा गर्नलाई एक्लै एक्लै जस्तो गरेर विद्रोहमा उभिएर गर्दाखेरि मैले भनेको थिएँ। हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन। हिजो राजनीतिक परिवर्तन भइसक्यो, अब राजनीतिमा परिवर्तन हुनुपर्छ। बनिसक्नुभयो पाँच पटक प्रधानमन्त्री। अब बन्नुहुन्न। तर त्यो निर्णयमा मैले सभापतिलाई सहमत गराउन त सकिनँ आफ्नो नाउँमा, आदरणीय साथीहरु। मैले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोही अर्को दोस्रो साथीलाई पनि सहमत गराउन सकिनँ।
मैले बैठकमा बडा नम्रतापूर्वक भनेँ कि आदरणीय सभापतिज्यू, तपाईँको सबैभन्दा ठूलो शुभचिन्तक त म नै मात्रै रहेछु, विश्वप्रकाश मात्रै रहेछ। जसले तपाईँलाई प्रष्ट सँग भन्छ कि पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, छैटौँ पटक बन्नुहुन्न। तपाईँले अमुक फलाना फलाना फलाना नेताहरु मध्येबाट तपाईँले प्रस्ताव गर्नुहोस्। तपाईँले मैले छोड्ने बेला आउँदैछ भनेर चितवनमा बोल्दै गर्दा त्यत्रो प्रशंसा भयो। तपाईँले मैले छोडेँ भनेर घोषणा गर्दै गर्दा तपाईँको व्यक्तित्व अर्कै ठाउँमा पुग्छ। देशले अभिभावक पाएको हुन्छ।
कांग्रेसको सभापति शेरबहादुर देउवाले त्यसरी गरिदिँदै गर्दा स्वाभाविक छ कि माओवादीको अध्यक्ष र एमालेको अध्यक्षलाई पनि दबाव पर्छ। तीन संन्यास, तीन अभिभावक बन्ने अवस्था बन्छ, मैले यो आग्रह पनि गरेँ। अब म त्यसमा फर्किन चाहन्नँ। मैले त्यो बेला बोलेँ तर त्यसलाई पार्टीको सम्पत्ति बनाउन सकिनँ। मलाई दुख लाग्छ कि अहिले साथीहरु भन्नुहुन्छ कि ओहो, विश्वप्रकाश त्यसबेला भनेको थियो। त्यो त्यही हिसाबले पो जानुपर्ने रहेछ। हामीले ढिलो बुझ्यौँ।
हामीले ढिलो गर्यौँ। ढिलो गर्दै गर्दाखेरि जुन आक्रोश असन्तुष्टिहरु भयो, त्यसको जगमा त्यसको आवरणमा हामीले गरेका राम्रा कामहरु पनि देशलाई बुझाउन सकेनौँ। हिजो पार्टीको केन्द्रीय कार्यालय पुग्दै गर्दाखेरि जलिरहेका भग्नावशेषहरु हेर्दै गर्दाखेरि मैले मनमनै सोचिरहेँ, यो बीपी कोइरालाको कार्यालय हो, बीपी कोइरालाको नाममा बनेको कार्यालय हो। देशलाई स्वतन्त्रता दिलायो, कांग्रेसले के गल्ती गर्यो? राणाबाट समावेशिताको जग बसायो। बीपीको मन्त्रिमण्डल हुँदै कांग्रेसले के गल्ती गर्दै गयो? तीस वर्षसम्म जेल र प्रवास गएर राखिदै गर्दा गोली खाएर कयौँ साथीहरु मर्दै गर्दा प्रजातन्त्रको दीपलाई जोगाएर राख्यो कांग्रेसले, के गल्ती गर्यो? पहिलो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय खोलिराखेर, जङ्गलको राष्ट्रियकरण गरिराखेर, मेची महाकाली बाटोको लागि सर्भे गरिराखेर, नेपालमा पहिलो एयरलाइन्स आफैँ स्थापित गरिराखेर, कांग्रेसले के गल्ती गर्यो? ४६ को परिवर्तन पछाडि समुन्नतिको दोस्रो जग बन्यो, त्यसले केही बाटो कोर्ने प्रयास गर्यो। कांग्रेसले के गल्ती गर्यो?







Facebook Comments