काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभएर विवशतापूर्वक यो पदमा आएको बताएकी छन् । ६ महिनामा चुनाव गराएर नयाँ सरकार र मन्त्रीहरूलाई दायित्व सुम्पिने उनको भनाइ छ ।

आज सिंहदरबारमा सचिवहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘म रहरले आएको होइन । सडकबाट, जताततैबाट फलानालाई, सुशीला कार्कीलाई जिम्मा दिऊँ भनेर आवाज उठ्यो । मैले विवश हुनुपर्‍यो । म कुनै सत्ताको रसस्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन त्यो ।’

६ महिना भन्दा बढी नबस्ने अठोट गरेर आएको उनले बताइन् । ‘हामीले यो बेलामा किन सेवा नगर्ने भनेर हो । ६ महिना मात्रैको अवधि बस्ने र त्योभन्दा बढी नबस्ने भनेका छौँ । ६ महिनामा आफ्नो कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरूको साथ नपाईकन सम्भव छैन । सुरक्षा निकायले पनि साथ नदिईकन सम्भव छैन । हेर्नुस्, मलाई सहयोग गर्नुस्,’ कार्कीले भनिन् ।