काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका कारण क्षति पुगेको सिंहदरबार परिसरको निरीक्षण गरेका छन् ।

मंगलबार मन्त्रालयका सचिवसहित सिंहदरबारको मुख्य भवन र गृहमन्त्रालय पुगेका घिसिङले आन्दोलनका क्रममा गरिएको आगजनी र तोडफोडले पुगेको क्षति अवलोकन गरे । सहरी विकास मन्त्रालयले संरचनामा भएको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको छ ।

निरीक्षणपछि घिसिङले सामान्य क्षति भएका भवनको बाहिरी भागमा रङरोगन गर्ने, क्षतिग्रस्त सवारी साधन तत्काल हटाउने, क्षतिको मूल्यांकन तत्काल गर्ने र ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सहयोग संकलन गरी पुनर्निर्माण अघि बढाइने बताए ।

उनले कार्यालयलाई क्षति भए पनि अव्यवस्थित देखाएर राख्न नहुने र बाहिरी स्वरूप चिटिक्क बनाउन आवश्यक रहेको बताए । “सिंहदरबार परिसरमा यत्रतत्र रहेका क्षतिग्रस्त सवारी साधन तत्काल हटाएर व्यवस्थापन गर्नुपर्छ, यसबाट उठ्ने सन्देश जान्छ,” घिसिङले भने ।

सरकारले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटाएर क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्ने तयारी गरेको छ ।