काठमाडौँ । जेनजी प्रदर्शनमा आगजनी र तोडफोड भएका सवारी साधना एकत्रित गर्न थालिएको छ । दुईपांग्रे र ४ पाङ्ग्रे सवारी साधनहरु टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको कम्पाउन्ड र कपनमा रहेका प्रहरी प्रभागमा सङ्कलन सुरु गरिएको हो ।

आफ्नो सवारीको विवरण लिनुपर्ने भएमा टेकु र कपनमा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । भदौ २३ र २४ मा प्रदर्शनकारीले काठमाडौँ उपत्यकाभर ठुलो सङ्ख्यामा सवारी साधनामा आगजनी र तोडफोड गरेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुरमा प्रहरीको १२१ वटा गाडीमा आगजनी गरिएको छ । आगजनीका कारण ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ४ वटा गाडीमा आंशिक क्षति पुगेको छ ।

दुईपांग्रे सवारी साधन १५८ वटा आगजनीमा परेका छन् । साइबर ब्युरोको ४ वटा गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीको ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा आगजनी गरिएको छ ।

रानीपोखरीमा जलेको अवस्थामा भेटिएको एउटा टोयोटा गाडी कसको हो भन्नेबारे खुलेको छैन ।