काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को भदौसम्म एक खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भदौसम्म दुई खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य पूरा भएन ।

भदौमा लक्ष्यको ७२.६५ प्रतिशत राजस्व संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार, भदौ मसान्तसम्म लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड रुपैयाँ कम राजस्व उठेको हो । भदौ महिनामा मात्र ९४ अर्ब आठ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएकोमा ७३ अर्ब ६१ करोड रुपैयाँ मात्र संकलन भएको छ । गत आर्थिक वर्ष ०८१/८२ को भदौ महिनासम्म दुई खर्ब १३ अर्ब३६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा एक खर्ब ६९ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

साउन महिनाको राजस्व विवरण व्यावसायिक संस्थाले भदौ २५ गतेसम्म बुझाउनुपर्ने व्यवस्था छ । तर, भदौ २३ र २४ गतेको ‘जेनजी’को प्रदर्शनका कारण धेरै व्यवसायीहरूले राजस्व बुझाउन पाएनन् । अर्थ मन्त्रालयले उनीहरूलाई एक महिना थप गरिदिएको छ । साउनको राजस्व विवरण असोज २५ गतेसम्म बुझाउँदा उनीहरूलाई कुनै पनि थप दस्तुर वा जरिवाना नलाग्ने व्यवस्था गरिएको छ ।

यसले गर्दा पनि राजस्व कम उठेको अनुमान छ । चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।