काठमाडौं । देशका धेरै स्थानमा गए राति (वैशाख २०)देखि वर्षा भइरहेको छ । आज (वैशाख २१) दिनभरजसो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यति बेला काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका केही स्थानमा पानी परिरहेको छ । कोसी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा पनि वर्षा भइरहेको महाशाखाका मौसमविद् डेविड ढकालले जानकारी दिए । केही समयपछि लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको उनले बताए ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ । “गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ,” उनले भने ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगलाको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावले वर्षा भएको उनले बताए । काठमाडौंमा पनि दिनभरजसो बदली/वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । “काठमाडौंमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भने ।

उनका अनुसार, यस दिनको तुलनामा सोमबार (वैशाख २२) वर्षा केही कम हुनसक्छ । तर, पानी सोमबार पनि पर्नेछ । “भोलि वर्षाको सम्भावना केही कम देखिन्छ,” मौसमविद् ढकालले भने, “तर, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ नै । भोलि काठमाडौंमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”

जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो १२ घण्टा (आइतबार बिहान १० बजेसम्म)मा तनहुँको खैरेनीटारमा सबैभन्दा धेरै ७७ मिलिमिटर वर्षा भएको छ । लमजुङको खुदीबजारमा ७२ मिलिमिटर पानी परेको छ ।

यस्तै, चितवनको शक्तिखोरमा ६८.२, पाल्पामा ६७.६, गोरखामा ६७.४, लमजुङको रैनासटारमा ६२ मिलिमिटर वर्षा भएको छ । काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २६.२, सुन्दरीजलमा ११.६, बूढानीलकण्ठमा १०.४, बबरमहलमा ९.२ मिलिमिटर पानी परेको विभागको तथ्यांक छ ।

यसबाहेक अरू धेरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।