-1746527126.jpeg)
जनकपुरधाम । नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा सत्यनारायण महासेठ र रामउद्गार दास लगायत छन्।
उनीहरूलाई एमाले मधेस प्रदेश संसदीय दलका नेता तथा मन्त्री सरोज यादव पक्षधरहरूले कुटपिट गरेको प्रतिनिधिले बताएका छन्। कुटपिटबाट घाइते हुनेहरू एमाले सचिव रघुवीर महासेठनिकट मानिन्छन्।
एमाले धनुषा अधिवेशनमा दुई पक्षबीच विवाद देखिएको छ। एमाले सचिव महासेठ, पोलिटब्युरो सदस्य जुली महतो, केन्द्रीय सदस्य हरिनारायण महतो एकातिर छन्। एमाले मधेस प्रदेश संसदीय दलका नेता यादव, केन्द्रीय सदस्य उमाशंकर अरगरिया, मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, निवर्तमान अध्यक्ष राजकिशोर यादव, सञ्जीव झालगायत नेता एकातिर छन्।
उम्मेदवारको अन्तिम नामावली निकाल्ने बेला विवाद भएर होहल्ला गर्न थालेपछि महासेठ पक्षधर प्रतिवादमा उत्रिएको थियो। त्यो समूहले निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवलाई लखेटेका थिए। पछि उनीहरू बाहिरबाट मानिसहरू ल्याएर कुटपिटमा उत्रिएको महासेठ पक्षधरले बताएका छन्। जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा जिल्ला अधिवेशन भइरहेको छ। दुवै पक्षबीच विवाद भएपछि अधिवेशन स्थलमा टाँगिएका पन्डाल च्यातिएका छन्। कुर्सी, कम्प्युटर, ल्यापटप लगायत सामग्री तोडफोड भएका छन्।
धनुषामा महासेठ पक्षधर बलियो मानिन्छ। महासेठ पक्षले अध्यक्षमा भोला यादव, उपाध्यक्षमा जयप्रकाश सुनरैत, सचिवमा दीपनारायण ठाकुर, उपसचिव (खुला)मा सविनविक्रम थापा र महिलातर्फ किरण कापरलाई अघि सारेको छ।
इतर समूहले अध्यक्षमा लक्ष्मीनारायण यादव, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा धिरेन्द्रकुमार मण्डल, खुला उपसचिवमा हरिकिशोर यादव र महिला उपसचिवमा रूकाकुमारी मिश्र अघि सारेका छन्। एमाले धनुषामा विवादकै कारण लामो समयदेखि अधिवेशन हुन सकेको थिएन। एमालेका ७७ जिल्ला कमिटीमध्ये धनुषामा मात्रै अधिवेशन हुन बाँकी थियो।







Facebook Comments