काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा पत्रकारिताको विकासतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन्।

बुधवार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति निवास शीतलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सत्यतथ्य समाचारको माध्यमबाट जनतालाई सजग बनाउनु जिम्मेवार सञ्चारकर्मीको दायित्व भएको बताए।

उनले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारले खेलेको भूमिका महत्त्वपूर्ण भएको बताए। स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएन भने लोकतन्त्र पनि बलियो बन्न नसक्ने उनको भनाइ छ। उनले राष्ट्र निर्माणका लागि पत्रकारिता सशक्त र प्रभावकारी माध्यम भएको बताए। उनले संविधानको मर्मअनुसार सञ्चारकर्ममा पत्रकार सजग र सचेत बन्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले भने, ‘संविधानको मर्म र भावनाअनुसार पत्रकारलाई निर्बाध र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। यसैगरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसुचित गर्नु जिम्मेवार प्रेसको धर्म हो। यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने विश्वास लिएको छु। समाचार लेखेकै आधारमा पत्रकार असुरिक्षत हुने अवस्था अन्त्य हुनुपर्छ।’

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक पत्रकारिताले समाजमा भ्रम सिर्जना अग्रसर भएको बताए। उनले सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगमार्फत मिथ्या सूचना सम्प्रेषण हुनसक्ने भन्दै सजग हुनुपर्नेमा जोड दिए। सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीबाट सर्वसाधारणमा पार्नसक्ने भ्रमलाई चिरेर सही सूचना सम्प्रेषण गर्नु पत्रकारका लागि चुनौती भएको उनको भनाइ छ।

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाई जनअपेक्षा अनुसार सुशासन तथा समृद्धिमा सकारात्मक र रचनात्मक भूमिका खेल्नुपर्ने बताए।