
सुनसरी ।हर्कराज साम्पाङ राईको कार्यकालमा धरान–१७ डाँडाघोपामा प्रस्तावित विमानस्थल निर्माणका नाममा करिब अढाइ वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ।
डाँडाघोपामा एयरपोर्ट बनाउने निर्णयसँगै २०८० भदौ ११ गते जग्गा बिक्री–वितरण सिफारिस रोक्ने निर्णय गरिएको थियो। उक्त निर्णयका कारण पाँच सयभन्दा बढी घरपरिवार प्रभावित भएका थिए। अब भनेयति इन्कर्पोरेट प्रालिले खरिद गरेको ६ बिघा जग्गाबाहेक अन्य सबै जग्गा फुकुवा गरिएको जनाइएको छ।
राईले मेयर पदबाट राजीनामा दिएपछि कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका उपमेयर अइन्द्र विक्रम बेघाले स्थानीय बासिन्दाको आग्रहपछि जग्गा फुकुवा गर्ने निर्णय गरिएको बताए। उनका अनुसार यति इन्कर्पोरेटको नाममा रहेको जग्गाबाहेक अन्य जग्गाको बिक्री–वितरण सिफारिस मंगलबारदेखि खुला गरिएको छ। निर्णयपत्र वडा नं. १७ कार्यालय, मालपोत र नापी कार्यालयमा पठाइसकिएको पनि उनले जानकारी दिए।
डाँडाघोपामा करिब २२ वर्षअघि यति इन्कर्पोरेटले विमानस्थल निर्माण गर्ने योजना अघि सार्दै २९ जना स्थानीयसँग प्रतिकट्ठा २८ देखि ३२ हजार रुपैयाँका दरले ६ बिघा जग्गा खरिद गरेको थियो। सो सम्झौतामा विमानस्थल निर्माण नभए पुरानै मूल्यमा जग्गा फिर्ता गर्ने सामाजिक करार समेत गरिएको थियो। त्यसबेला तत्कालीन धरान नगरपालिकाले पनि आफ्नो स्वामित्वमा रहेको ७ बिघा जग्गा उपलब्ध गराउने सहमति जनाएको थियो।
तर परियोजना अघि नबढेपछि विवाद लम्बिँदै गएको थियो।नागरिक उड्डयन प्राधिकरणले प्राविधिक रूपमा डाँडाघोपामा विमानस्थल निर्माण अनुपयुक्त हुने निष्कर्ष निकाल्दै औपचारिक रूपमा प्रक्रिया टुंग्याएको थियो। पछिल्लो चरणमा पर्यटन मन्त्री रहेकासुदन किरातीको कार्यकालमा पुनः सम्भाव्यता अध्ययन गरिए पनि प्राधिकरणले प्राविधिक कारणले निर्माण सम्भव नभएको स्पष्ट पारेको थियो।
यसबीच तत्कालीन मेयर राईले विमानस्थल निर्माण गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै आएका थिए भने पर्यटन मन्त्रालयसँग असहयोग भएको आरोप लगाउँदै विवादसमेत चर्किएको थियो। विमानस्थल निर्माणको बहानामा प्राधिकरणले तीन पटक स्थलगत सर्वेक्षण गरी करिब ११ करोड रुपैयाँ खर्च गरेको बताइएको छ।







Facebook Comments