काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स  १.८३ अंकले घटेर ४३८.१७ विन्दुमा पुगेको छ।

यसदिन ३०९ स्क्रिप्सको  १ करोड ६९ लाख ७ हजार ७३६ कित्ता सेयर ८ अर्ब ५० करोड ९२ लाख २१ हजार  ३१२ रुपैयाँमा खरिदबिक्री भए। नेप्से सामान्य अंकले घटे पनि  दुईवटा कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ओम मेघाश्री फर्माक्युटिकल्स र छ्यांदी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको ९.५३ प्रतिशतले बढ्दा नेपाल रिइन्स्योरेन्सको ८.४१ र बराही हाइड्रोपावरको ७.३२ प्रतिशतले बढ्यो। यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.७१ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको  ७० करोड बढीको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ५१ करोडको सेयर कारोबार हुँदा राधी विद्युतको ४८ करोड,युनिलिभर पावरको ४३ करोड र  हिमालयन रिइन्स्योरेन्सको ४२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १०० स्टक्सको मूल्य बढ्दा १४५ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने स्थिर रह्यो। आज तीन समूहको उपसूचक बढ्दा अन्यको घट्यो। अदर्श समूहको उपसूचक ४.१९ प्रतिशतले बढ्दा होटल्स एण्ड टुरिजम र  माइक्रोफाइनान्सको १ प्रतिशत बढी बढ्यो।