काठमाडौं । चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन् । चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनमा बन्न लागेको चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा अनुबन्ध भएका हुन् ।

“अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ,” निर्देशक शेर्पाले भने, “स्टोरी पिच गर्दा मन परेपछि सहकार्य सम्भव भएको हो । हाम्रो चलचित्र सोसल ड्रामा हुनेछ ।”

‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ । अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका छैनन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । यसअघि सार्वजनिक थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र थिए ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सहनिर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ रहेका छन् । यो चलचित्रको कार्यकारी निर्मातामा रोहित कट्टेल छन् ।

‘मिरमिरे’लाई २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।