
काठमाडाैँ । म्याग्दीको राहुघाट बेसिनमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रणालीमा जोड्न निर्माण गरिएको २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ ।
चिमखोलादेखि गलेश्वर स्थित राहुघाट जलविद्युत आयोजनाको स्विचयार्डसम्म १३ किलोमिटर लामो यो प्रशारण लाइनबाट ३५ मेगावाटको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला गरी चारवटा आयोजनाको विद्युत प्रवाह गरिनेछ । नेपाल विद्युत प्राधिकरण मार्फत अम्बाङमा निर्माणाधीन सवस्टेशन सम्पन्न नहुदासम्म अस्थायी रुपमा राहुघाटको स्विचयार्डबाट २२० केभी दाना–खुर्कोट प्रशारण लाइनमार्फत विद्युत केन्द्रीय प्रणालीमा पठाइनेछ ।
तुदि पावरका प्रतिनिधि उपेन्द्र गौतमका अनुसार, चिमखोला–मंगले राहुघाट र ठूलोखोला आयोजनाको भौतिक संरचना र उपकरण परीक्षण भइसकेको छ भने माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् ।
चिमखोलादेखि राहुघाटसम्म विद्युत आपूर्ति गराएर प्रशारण लाइनको परीक्षण सुरु गरिएको छ र परीक्षण लगत्तै केन्द्रीय प्रणालीमा विद्युत जोडिने उनले बताए । यस प्रशारण लाइनमा ३९ वटा टावर छन् र चारवटै आयोजनाले सहकार्य गरेर यसको निर्माण गरेका हुन् । तुदि पावरले प्रभावित क्षेत्रका बासिन्दालाई प्रशारण लाइनका टावर र तार नछुन तथा विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुदा राहुघाट नदी किनारमा जँदा सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।







Facebook Comments