काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लेखा र अर्थ समितिको निर्देशनले आईपीओ जारीमा थप अन्योलता सिर्जना भएको बताएका छन् ।

अर्थ समितिमा बिहीबार छलफलमा बोल्दै उनले दुई संसदीय समितिका फरक आशयका पत्रले अन्योलता बढेको उल्लेख गरे । आगामी दिनमा कसरी अघि बढ्नेबारे अर्थ समितिबाटै निर्देशन हुनुपर्ने बताए ।

साथै पूँजी बजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर रहेको उनले स्वीकार गरे ।

पुँजीबजारको विस्तार अनुसार नियमन विगतमा नभएको र आफ्नो ६ महिनाको कार्यकालमा सुधार्ने कोशिस भएको बताए ।

श्रेष्ठकाअनुसार नयाँ स्टक एक्सचेन्जका विषयमा चिन्तामणी शिवाकोटीको प्रतिवेदन कार्यान्वयन गर्ने चरणमा गइसकेको छ । उक्त प्रतिवेदनले नयाँ स्टक दिन उपयुक्त हुने बताएको छ ।

भइरहेको नेप्सेलाई पुनर्संरचना गर्न भनिएको छ । ‘पुँजीबजारको जति छिटो विकास भइरहेको छ तर धितोपत्र बोर्डले त्यो अनुरुप नियमन गर्न सकेको छैन’ उनले भने ‘हामीले महसुस गरेकै छौं, सुदृढ गर्न लागिरहेको छु ।’

श्रेष्ठकाअनुसार नयाँ स्टक एक्सचेञ्ज दिन कुनै रोकतोक छैन । अहिले तीन वटा प्रस्ताव आइसकेको छ । आएका तीन वटा प्रस्तावमाथि मूल्यांकन गरेर प्रक्रिया अघि बढाइनेछ ।