काठमाडौँ । चर्चित गायक तथा मोडल दुर्गेश थापाको पछिल्लो गीत ‘जाने भए जाम माया’ले युट्युबमा तहल्का मच्चाएको छ । बुधबार आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतले दर्शक र श्रोताबाट उत्साहजनक प्रतिक्रिया बटुल्दै नयाँ कीर्तिमान कायम गरेको हो ।

२४ घण्टामै २२ लाखभन्दा बढी पटक हेरिएको गीतलाई यो समाचार बनाउँदासम्म २८ लाखभन्दा बढी पटक हेरिएको छ ।  

गीत सार्वजनिक भएको केही घण्टामै युट्युबको म्युजिक विधाको ट्रेन्डिङ नम्बर एकमा उक्लिएको थियो । नेपालमा मात्र नभई विदेशका केही देशमा समेत गीत ट्रेन्डिङमा परेको बताइएको छ ।

यो गीतको सफलताको पछाडि चर्चित कलाकारहरूको सहकार्य पनि एक प्रमुख कारण हो । गीतमा दुर्गेश थापाका साथै चर्चित भ्लगर सिसन बानियाँ र नाइजेरियन फुटबलर अल्हाजी गेरोको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा यी तीनै जनाका साथमा सामाजिक सञ्जालमा ‘गुराँस नानी’ उपनामले चर्चित मोडलको  अभिनय रहेको छ ।

गीतको शब्द तथा संगीत स्वयं दुर्गेश थापाले नै तयार पारेका हुन् । शिव विकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोले गीतको भावलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । यसको छायांकन हरि हुमागाईंको टिमले गरेको हो भने सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।