काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । दर्शकले कथावस्तुको प्रशंसा गरेका छन् ।

फिल्मले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्धन गर्ने प्रयासमा प्रशंसनीय काम गरेको भन्दै युवापुस्ताका दर्शकले हेर्न सुझाव दिएका छन् ।

दर्शक भेट्न कलाकार रोशन श्रेष्ठ, बुद्धि तामाङ र निर्देशक मित्र प्रधान पूर्वका हल हलमा पुगेका छन् । दमकमा फिल्म हेर्ने दर्शक बढे सँगै फिल्म युनिट पनि पूर्वका सहरमा पुगेको हो ।

आइतबार बेलुका दमकको डी-म्याक्स हलमा कलाकार पुग्दा हलमा खचाखच दर्शक थिए । हेरेर निस्किएका दर्शकले मन छुने फिल्म बनेको भन्दै फिल्म हेर्दा धेरै ठाउँमा आँसु खसेको बताए ।

भुटानी नेपाली शरणार्थीले फिल्म हेरेपछि आफूलाई पुरानो दिनको याद आएको बताउँदै आँसु खसाले । निर्देशक प्रधानले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया आउँदा खुसी लागेको बताए ।

फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुसा समाल र बुद्धि तामाङको प्रमुख भूमिका छ । पद्मा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो फिल्मका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।