
काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीतमा लेखु सहयात्रीको शब्दरचना छ । गीतमा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्री स्वयंको छ ।
गीत आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको ‘थिम’मा छ । गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ । उनी तेस्रोलिंगी महिलाको भूमिकामा देखिएका छन् । गीत सार्वजनिक गर्दै निर्माण टिमले रिलिज डेट पनि घोषणा गरेको छ । ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुनेछ ।
समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चालो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।
नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले किनेको छ ।







Facebook Comments