
काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२/८३ आज सुरु भएको छ। आजैदेखि सरकारले ल्याएको नयाँ बजेट कार्यान्वयनमा आएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गर्नुभएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष खर्च वृद्धि र राजश्व संकलनमा केही वृद्धि भएकाले शिथिल अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन्।
तर, अर्थतन्त्र पूर्णतया लाइनमा आइनसकेको अर्थविद्हरु बताउँछन्। आन्तरिक अर्थतन्त्रका १८ सूचक सकारात्मक देखिएकाछन्। गतवर्ष सरकारले कुल ८२ दशमलब ८८ प्रतिशत खर्च गरेको छ।
यसमध्ये चालुतर्फ ८५.९५ र पूँजिगततर्फ ६३.२ प्रतिशत खर्च भएको छ। यो सकारात्मक नभए पनि अघिल्लो आर्थिक वर्षभन्दा खर्च बढेकाले सरकारले सफलता मानेको छ। यस्तै मौद्रिक नीति पनि आजैदेखि लागू हुनेछ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले गत शुक्रबार लचिलो मौद्रिक नीति सार्वजनिक गरेका थिए।
मौद्रिक नीतिका प्रावधानले बैंकमा थुप्रिएको तरलता बजारमा प्रवाह हुने, घरजग्गा कारोबार बढी राजश्वमा सकारात्मक प्रभाव पर्ने तथा सेयर बजारमा समेत हरियाली र सामान्य व्यवसाय गरी खानेहरुलाई समेत सहज हुने अपेक्षा गरिएको छ।







Facebook Comments