विराटनगर । कोशी प्रदेशका दुई वटा उपमहानगरपालिका धरान र इटहरी उपमहानगरपालिकामा बजेट होलिडे सुरु भएको छ ।

आन्तरिक विवादका कारण धरानमा उपमहानगरपालिकाले बजेट नै ल्याउन नसकेपछि बजेट होलिडे सुरु भएको हो भने इटहरी उपमहानगरपालिकाको नगर सभाले बजेट पास गर्न नसकेपछि बजेट होलिडे सुरु भएको हो ।

बजेट होलिडे भएका कारण आजबाट दुई उप महानगरले गर्ने खर्चमा रोक लागेको छ । इटहरी उपमहानगरकी उपमेयर संगिता चौधरीले गत असार १० गते २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् ।

इटहरी उपमहानगरको बुधवार बसेको १६औँ नगर सभा बैठकले विनियोजन विधेयक र अर्थ विधेयक पास गर्न नसकेपछि बजेट होलिडे भएको हो । बुधवार बसेको इटहरीको नगर सभा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । अर्थ विधेयक, विनियोजन विधेयक र राजस्वको दररेट कुनै पनि उपलब्ध नगराई गोलमोटोल तरिकाले बजेट पास गर्न खोजेपछि विवाद भएको उपमेयर चौधरीले बताइन् ।

वडाबाट छनौट भएर आएका योजना समेत लुकाएर बजेट पास गर्न खोजेपछि नगर सभा सदस्यहरूले विरोध जनाएका थिए । इटहरीमा चालुतर्फ १ अर्ब ४ करोड ११ लाख, वित्तीय व्यवस्थातर्फ ९० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब ३० करोड १९ लाख विनियोजन गरिएको छ ।