काठमाडौँ । आगामी भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छेस् सम्बन्धका धागाहरू’को आधिकारिक टिजरले युट्युबको ट्रेन्डिङ सूचीमा प्रवेश गर्दै चौथो स्थानमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

गत मंगलबार सार्वजनिक भएको टिजरले छोटो समयमै दर्शकमाझ लोकप्रियता हासिल गर्दै चर्चा बटुलिरहेको छ । यो समाचार तयार पार्दासम्म टिजरले १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ । सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गर्दै टिजरले चलचित्रप्रति दर्शकको तीव्र उत्सुकता र सकारात्मक प्रतिक्रियालाई प्रमाणित गरेको छ ।

हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रको टिजरले एक साधारण नेपाली युवाको सपना, संघर्ष र सम्बन्धहरूमा आउने उतारचढावको मार्मिक कथा प्रस्तुत गर्छ । टिजरमा मुख्य अभिनेता विजय बराललाई पुरोहित बुबाको इच्छाविपरीत कोरिया जाने सपना बोकेर सहर पसेको एक महत्त्वाकांक्षी युवाको भूमिकामा देखाइएको छ । सहरको कठिन जीवनशैली, नयाँ प्रेमको सुरुवात र गाउँमा छाडिएकी दिदीसँगको भावनात्मक द्वन्द्वले कथावस्तु गहिरो र मार्मिक रहने संकेत गर्छ ।

टिजरमा विजयका साथै अभिनेत्री केकी अधिकारी र मिरुना मगरलाई पनि मुख्य भूमिकामा प्रस्तुत गरिएको छ, जसले चलचित्रमा त्रिकोणात्मक प्रेमको द्वन्द्व रहने अनुमान गर्न सकिन्छ ।