बैतडी। बैतडीको सीमा नाका झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले ७४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा ७४ लाख ४३ हजार २४३ रुपैयाँ राजस्व संकलन गरेको हो । 

एक करोड ३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा त्यसको ७१ दशमलव ८५ प्रतिशतमात्रै राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नी क्षेत्रीले बताए ।

राजस्व संकलनको लक्ष्य नै बढी भएका कारण गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको उनको भनाइ छ । भन्सार महशुल,भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा ५० लाख ८९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन भएको थियो ।

झुलाघाट नाकाबाट कपडा, भाडाकुँडा, चिनी लगायतका घरायसी प्रयोजनका सामग्रीहरू भित्रिने गरेको छ । व्यापारमा सिथिलता आएका कारण राजस्व संकलनमा कमि आएको उनले बताए । भारतीय बजारबाट आयात हुने सामग्रीबाटै राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।

झुलाघाट नाकाबाट निर्यात भने शून्य रहेको हो । यस्तै चोरी पैठारीका ७ वटा मुद्दामध्ये ४वटा फछ्यौट भएका छन् । व्यवारिसे ३२ वटा मुद्दामध्ये १२ वटा मुद्दा फर्छ्यौट भएको कम्प्युटर अपरेटर मन्नीले जानकारी दिए ।