काठमाण्डाैँ । नेपाल र चीनबीच सीमापार प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन थालिने भएको छ । रसुवागढी–केरुङ सीमापार प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययनबारे दुई मुलुकबीच भएको यसअघिको सहमतिलाई साेमबार काठमाडौंमा औपचारिकता दिइएको  छ ।

यसनिम्ति नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष छन सियाओतोङले सहमतिमा हस्ताक्षर गरेका छन् । अर्थ मन्त्रालयमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ राजदूत छन सोङलगायतको उपस्थितिमा उक्त सहमति गरिएको हो ।

अब रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणसम्बन्धी सम्भाव्यता अध्ययनको काम तत्काल अगाडि बढ्ने जनाइएको छ । भेटवार्तामा चीनसँग प्रसारण लाइनसहित विभिन्न परियोजना सञ्चालन गर्ने समझदारी पनि भएको छ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माण,मीनभवनस्थित निजामती कर्मचारी अस्पतालको विस्तार सम्भाव्यता अध्ययन र दुई मुलुकबीच मानव सँशाधन विकासलगायत छन् ।

ती समझदारीमा नेपालका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनका तर्फबाट सिड्काका अध्यक्षले हस्ताक्षर गरेका थिए । अब चीनले भरतपुरमा एक हजार ८३४ वर्गमिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्र निर्माण र मेसिनरी जडान गर्नेछ । त्यस्तै चीनले एक हजार २७० जना सरकारी कर्मचारीलाई विभिन्न संस्थाले आयोजना गर्ने द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा सहभागी गराउने छ ।

सो क्रममा सिड्काका अध्यक्ष सियाओतोङले भौतिक संरचनाको पुनर्निर्माणमा आवश्यक सहयोग गर्न र भन्सार प्रक्रिया छिटो सञ्चालन गर्न चीन तयार रहेको जानकारी दिनुभएको छ । अर्थमन्त्री पौडेलले विपतलगत्तैको पुनर्निर्माणमा चीनले देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिनुभएको मन्त्रालयले जनाएको छ ।