रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको रुपन्देहीको देवदहमा झण्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना शुक्रबार सार्वजनिक भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यहाँस्थित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक गरेका हुन् ।

विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झण्डै ९२ विगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्ने गरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौं सभा बैठकले स्वीकृत गरेको थियो ।

सभाबाट स्वीकृत गुरुयोजना उपप्रधानमन्त्री पौडेलले शुक्रबार सार्वजनिक गर्दै गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताए। ‘गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ’, उनले भने, ‘हामीहरु साथ र सहयोग गर्न सधैं तत्पर छौं ।’

२०५१ सालमा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको क्षण स्मरण गर्दै उनले अहिले विश्वविद्यालयको स्वरुपमा पुगेको बताए । ‘यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रुपमा स्थापित हुन सक्छ, उनले भने,–‘शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाईमा पुर्याउनुपर्छ ।’

बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउदा विश्वविद्यालय अझै प्रभावकारी रुपमा अघि बढेको उनको भनाई थियो । विश्वविद्यालयलाई लुम्बिनी र गौतम बुद्धका रुपमा ब्राण्डिङ गर्न सहज हुने भएकाले त्यसको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय स्तरमा फैलाउन निर्देशनसमेत दिए ।

८० अर्बको गुरुयोजनाका मूर्तरुप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्ने उनले बताए। पूर्वाधार विकाससंगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन आग्रह गर्दै त्यसको कार्यान्वयनमा सरकारले काम गर्ने उनले प्रतिवद्धता जनाए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवद्र्धनात्मक कार्यक्रम बनाइरहेको बताए । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजनाजस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनले जनाए ।

रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पुर्याएको योगदानको चर्चा गर्दै देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठूलो सहयोग हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धानहरु सरकारका नीति योजनामा पर्नेगरी गरिरहेको उनले स्पष्ट पारे ।

देवदहको जग्गा प्राप्तीमा भएको कठिनाई स्मरण गर्दै उनले गुरुयोजना कार्यान्वयन हुँदा मुलुककै नमुना विश्वविद्यालयका रुपमा स्थापित हुने बताए। लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको उनको भनाइ थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले लुम्बिनी बौद्ध विश्वविद्यालय देशकै गौरवको आयोजनाका रुपमा रहेको र लुम्बिनीको समग्र विकासमा संघीय सरकारको विशेष चासो आवश्यक रहेको बताइन् ।

विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय होस्टेल निर्माण गर्न लागेको र सो निर्माण बीस महिनाभित्र सकिने अपेक्षा राखिएको र विश्वविद्यालयमा हाल करिव २ सय विदेशीसहित ३ हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले दिए ।