
काठमाडौँ । डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको बताएकी छिन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भए पनि अहिले नै लाइसेन्स बाँड्नसक्ने स्थिति नरहेको बताएकी हुन् ।
ढुंगानाका अनुसार बैंकहरूमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन । कतिवटा बैंकहरु उपयुक्त हुन्छ भन्ने सन्दर्भमा राष्ट्र बैंकले अध्ययन समेत गरेको थियो । २ वर्षअघि एउटा अध्ययन गरेर बैंकहरूको संख्या निर्धारण गर्ने अहिले त्यसैलाई मिचेर नयाँ लाइसेन्स दिने कुरा सम्भव नहुने ढुंगानाले बताए ।
ढुंगानाका अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति नियमन तथा आवश्यक अन्य प्रावधानमार्फत बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न निरन्तरण प्रयासरत छ । बैंक तथा वित्तीय संस्थाहरूको वर्तमान स्थिति र परिदृश्यलाई नेपाल राष्ट्र बैंकले राम्रोसँग निहालिरहेको उनले बताइन् ।
डेपुटी गभर्नर ढुंगानाले भनिन्,‘२ वर्षअघि १५–१८ को हाराहारीमा बैंकहरू हुनुपर्छ भनेर राष्ट्र बैंकले नै रिपोर्ट निकालेका थियौं । अब होइन होइन । अब फेरि नयाँ खुलाउनुपर्छ भन्दै धमाधम नयाँ ल्याउन दिने कुरा हुँदैन । हामीले अध्ययन नगरी, कुनै आधार नभई कुनैपनि कुरामा ह्वात्तै अघि बढ्न सक्दैनौं । डिजिटल बैंकको सन्दर्भमा छुट्टै प्रकृतिको आवश्यक हो भने अध्ययन गरेर संस्थाहरु खुलाउनु पर्छ । बजेटमा पनि आएको छ । यसमा हामी पोजेटिभ नै छौं । सबैकुरालाई हेरेर मात्रै निर्णय लिनुपर्छ ।’







Facebook Comments