
काठमाडौं । माइकल चन्दले निर्देशन गर्ने फिल्म ‘राम नाम सत्य’मा अहिलेका चर्चित कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीले अभिनय गर्ने भएका छन् ।
यो उनको डेब्यु फिल्म हुनेछ । यो फिल्मको कथा र आफ्नो भूमिका सशक्त रहेको उनले बताए । यो फिल्मको लागि उनले केही महिनादेखि मिहेनत गरिरहेका छन् ।
साउन २९ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माताको छ ।
यो फिल्ममा यसअघि विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी अनुबन्धित भैसकेका छन् । एकजना अभिनेत्री फाइनल गरेपछि कलाकारको लाइनअप पुरा हुने जनाइएको छ ।
उपेन्द्र शाही र श्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । संजय लामाको छायांकन रहने फिल्मलाई चितवन, काठमाडौंमा खिचिनेछ ।







Facebook Comments