
सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो लक्ष्य अनुसार आन्तरिक आय वृद्धि गर्न सकेको छैन । आर्थिक वर्ष ०८१/०८२ मा आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरिएको थियो भने ८३ करोड ४४ लाख ६५ हजार आन्तरिक आम्दानीको लक्ष्य थियो ।
खर्च व्यहोर्ने स्रोतमा उक्त लक्ष्यलाई समेत आधार मानेर सो आर्थिक वर्ष ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याइएको थियो, जसको बाँकी हिस्सा अनुदानमा निर्भर थियो । यद्यपि प्रदेश सरकारले लक्ष्यभन्दा १७ करोड ५० लाख ९ हजार रुपैयाँ भन्दा कम आम्दानी गरेको छ ।
प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार उक्त वर्ष सरकारको आन्तरिक आय ६५ करोड ९४ लाख ५५ हजार रुपैयाँमात्रै छ । सरकारले बेरुजु रकम, निकासी फिर्तालाई पनि राजस्वमा जोड्ने गरेको छ, तर त्यो सरकारको वास्तविक आम्दानी होइन ।
गत आर्थिक वर्षमा सरकारले विभिन्न ४४ वटा शीर्षकमा राजस्व संकलन भएको देखाएको छ, तर प्रदेश सरकार आफैँले सबै शीर्षकमा राजस्व उठाउन पाउँदैन ।
प्रदेश सरकारले लगानी गरेका क्षेत्रको राजस्व समेत स्वयं प्रदेश सरकारले पाउन सकिरहेको छैन । प्रदेशको राजस्वका स्रोत भनेको परीक्षा शुल्क, सवारी साधन कर, यातायात क्षेत्रको आम्दानी, कृषि वस्तु बिक्रीबाट प्राप्त आम्दानी लगायत छन् ।
गत वर्ष परीक्षा शुल्क शीर्षकमा दुई करोड ३५ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । लोक सेवा आयोग गठन पश्चात् विभिन्न तहका परीक्षा सञ्चालन भएसँगै उक्त शीर्षकमा राजस्व वृद्धि हुँदै गएको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
यस्तै शिक्षा क्षेत्रको आम्दानी शीर्षकमा ४ लाख १३ हजार रकम उठेको छ । यातायात क्षेत्रको आम्दानी शीर्षकमा १ करोड ७ लाख, सवारी साधन कर (सबैभन्दा बढी) २५ करोड ९५ लाख ६२ हजार, कृषि उत्पादनको बिक्रीबाट २० लाख ४० हजार राजस्व संकलन भएको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
अधिकांश शीर्षकमा केन्द्रले नै राजस्व बाँडफाँट गरेर पठाउने हुँदा प्रदेश सरकार ‘हात बाँधिएको’ अवस्थामा छ । प्रदेश सरकारले अनुदानमा ल्याउने गरेको वार्षिक बजेट र आन्तरिक आयमा आकाश पातलकै फरक छ ।
राजस्वमा प्रदेशको अधिकार भनेको सवारी, मनोरञ्जन, विज्ञापन, घर जग्गा रजिष्ट्रेशन शुल्क हो । तर, कर्णालीमा मनोरञ्जन, विज्ञान शीर्षकमा राजस्व उठ्न सक्ने कुनै संरचना छैनन् । घर जग्गा शीर्षकमा पनि वीरेन्द्रनगर नगरपालिका बाहेकका स्थानीय तहबाट खासै राजस्व आउने गरेको छैन ।
रेडियो दस्तुर शीर्षकमा ७ लाख १५ हजार, टेलिभिजन सञ्चालन दस्तुरमा १ लाख राजस्व उठेको छ भने पदयात्रा शुल्क शीर्षकमा जम्मा ७०० रुपैयाँ राजस्व संकलन भएको छ । अझ विडम्बना त के छ भने, कर्णाली प्रदेशभित्रकै वन, जंगलबाट उठ्ने राजस्वसमेत प्रदेश सरकारले उठाउन पाउँदैन ।
अधिकांश शीर्षकमा केन्द्रले नै राजस्व बाँडफाँट गरेर पठाउने हुँदा प्रदेश सरकार ‘हात बाँधिएको’ अवस्थामा छ । प्रदेश सरकारले अनुदानमा ल्याउने गरेको वार्षिक बजेट र आन्तरिक आयमा आकाश पातलकै फरक छ ।
सरकारले आर्थिक समृद्धिको आधार भनेर प्राथमिकतामा राख्दै आएको पर्यटन र कृषि क्षेत्रबाट पनि कुनै लाभ लिन सकिरहेको छैन ।
अर्थ मन्त्रालयका उपसचिव (राजस्व) प्रेमप्रकाश शाहीका अनुसार प्रदेशको कुल आन्तरिक आय (राजस्व, बेरुजु असुली, अनुदान फिर्ता आदिसहित) ८३ करोड अनुमान गरिएकोमा जम्मा ६५ करोडमात्र प्राप्त भएको छ ।
उनका बुझाइमा बजेट भनेकै अनुमानमा आधारित हुने हुँदा राजस्व संकलनमा केही तलमाथि हुनु स्वाभाविक हो ।
पूर्वअर्थमन्त्री बेदराज सिंह हरेक वर्ष लगानी बढ्दै जाँदा आम्दानी पनि बढ्नुपर्नेमा त्यसो हुन नसकेको बताउँछन् । राजस्व चुहावट नियन्त्रण गर्न र संकलन संयन्त्रलाई चुस्त बनाउन सरकार पूर्णरूपमा असफल भएको सिंहको भनाइ छ ।
‘राजस्वको दायरा फराकिलो बनाउन नसक्नु एउटा कमजोरी हो, तर भएको दायराबाट पनि चुहावट रोकेर प्रभावकारी रूपमा संकलन गर्न नसक्नु अर्को ठुलो कमजोरी हो,’ उनले रातोपाटीसँग भने ।
सरकारका प्रवक्ता विनोदकुमार शाहले राजस्वको दायरा बढाउन र संकलनलाई प्रभावकारी बनाउन सरकारले एक समिति गठन गरेको बताउँछन् ।
‘समितिले प्रतिवेदन दिएपछि त्यसका आधारमा नयाँ नीति लिइनेछ,’ उनले भने, ‘नयाँ बजेटमा पर्यटन, कृषि र उद्योग क्षेत्रमा बजेट बढाइएको छ । यी क्षेत्रको विकास भएमा आन्तरिक स्रोत स्वतः वृद्धि हुन्छ ।’
यातायात क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रणमा कडाइ गरिने उनले बताए ।







Facebook Comments