काठमाडौँ । जब व्यवस्था फेरिन्छ, पात्रहरू फेरिन्छन्, तर जनताका प्रश्नहरू उस्तै रहन्छन्। यस्तै एक शाश्वत प्रश्न कर्णालीको दुर्गम भूगोलमा गुञ्जियो, जसको सम्बोधन गर्ने पात्र थिए- पूर्वयुवराज हृदयन्द्र शाह। डुडल चैत्यको ऐतिहासिक परिसरमा पञ्चकली बुढा नामकी एक स्थानीय चेलीले उनलाई सोधिन्, 'हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ?' यो प्रश्न केवल एक व्यक्तिको जिज्ञासा थिएन, यो त सिंहदरबारबाट टाढा रहेको आम नेपालीको मनभित्र दबिएको आवाज थियो। 

आफ्नो जन्मदिनको अवसरमा हृदयन्द्रले सार्वजनिक गरेको जुम्ला भ्रमणको १५ मिनेट लामो भिडियोले सामाजिक सञ्जालमा चर्चा मात्र कमाएको छैन, यसले केही गम्भीर संकेत पनि गरेको छ। उनको शैली फरक छ। उनी भाषण गर्दैनन्, बरु सुन्छन्। उनी आश्वासन बाँड्दैनन्, बरु देशको सौन्दर्य र जनजीवनलाई आफ्नो क्यामरामार्फत दुनियाँलाई देखाउँछन्। 

जुम्लाको प्राकृतिक सौन्दर्य, भौगोलिक विकटता र स्थानीय रहनसहनलाई समेटिएको उनको भिडियो एक किसिमले देश चिन्ने र जनतासँग भावनात्मक सम्बन्ध जोड्ने अभियानजस्तै देखिन्छ। 

पञ्चकलीको प्रश्नको जवाफमा हृदयन्द्रले कुनै राजनीतिक घोषणा गरेनन्, तर उनको यात्रा र त्यसलाई प्रस्तुत गर्ने शैलीले नै वर्तमान राजनीतिलाई एक मौन चुनौती दिएको छ। जब देशका नेताहरू सत्ताको अंकगणितमा अल्झिरहेका छन्, दरबारका एक उत्तराधिकारी जनताको आधारभूत प्रश्नसँग साक्षात्कार गरिरहेका छन्।

उनको यो यात्रा र भाइरल भिडियोले देखाउँछ- जनताको मन जित्न ठूला भाषण होइन, उनीहरूको आँगनमा पुगेर उनीहरूका प्रश्न सुन्ने धैर्यता चाहिन्छ। 

जुम्लाको सौन्दर्यमा आश्चर्य मान्दै फेरि आउने वाचा गरेका हृदयन्द्रको यो यात्रा उनको व्यक्तिगत डायरीको एक पाना मात्र हो वा भविष्यको राजनीतिको एउटा अध्याय, त्यो समयले नै बताउला। तर, यति निश्चित छ कि उनको यो भिडियोले धेरैको ध्यान तानेको छ