
काठमाडौँ । जिल्लाको सबैभन्दा विकट अपीहिमाल गाउँपालिका–३ क्षेत्ति र घाजिरका स्थानीयको सबैभन्दा ठूलो जात्रा (बिरे जात) सुरु भएको छ । साउन शुक्ल दशमीबाट जात्रा सुरु हुन्छ ।
यो जात्रा धार्मिक र पर्यटकीय मात्रै नभई सांस्कृतिक हिसाबले पनि जिल्लाकै महत्वपूर्ण हो । बिरे जात (सुर्मा देवी जात्रा) १७ दिनसम्म मनाइन्छ ।
क्षेत्ति र घाजिर गाउँमा विशेष पूजा गरी जात्रा मनाइने चलन रहेको अपीहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह बोहरा ठेकरेले बताए । प्रत्येक दुई वर्षको अन्तराल एवं जोर वर्षमा हुने जात्रालाई विशेष मनाइन्छ ।
क्षेत्तिका स्थानीय रामसिंह बोहराका अनुसार जात्राका लागि दिनमा एक छाक खाने, मुहानको पानीमा हरेक दिन दुईचोटि नुहाउने, खाली खुट्टा हिँड्ने, रुद्राक्षको माला पहिनेर बिहान–बेलुका शंख बजाउँदै पूजा आराधना गर्ने व्यक्ति 'बिरे' हुन् ।
सुर्मासम्म जाने बिरेहरूलाई दुई भागमा विभाजन गरिएको हुन्छ । पहिलोचोटि सुर्मासरोवरको यात्रामा सहभागी हुने बीरेलाई बालोबिरे भन्ने गरिन्छ । बालोबिरेहरूले औंसीको दिनदेखि निकै कडा सामाजिक अनुशासनमा बस्नुपर्ने हुन्छ । यसअघिको जात्रामा गइसकेको बिरेलाई बुढोबिरे भन्ने गरिन्छ ।
यस जात्रामा सुर्मा भवानीका विशेष चेला, जसलाई बिरे भनिन्छ, उनीहरू बिरेकै रूपमा बझाङस्थित सुर्मा सरोवरको यात्रामा निस्कन्छन् । बिरेहरू स्थानीय विशेष पहिरनसहित खाली खुट्टा अपिहिमाल गाउँपालिकाको क्षेत्तिबाट साढे २४ किलोमिटर बझाङको सिमाना सुर्मासरोवर पुग्छन् । उता बझाङको सुर्मा गाउँपालिकाबाट पनि श्रद्धालुहरू सिकारीको भेषमा सुर्मा सरोवरको यात्रामा निस्कने चलन छ । यो जात्रा नेपालकै फरक तथा मौलिक जात्राको रुपमा मनाइन्छ ।
सुर्मासरोवरमा देवीको आराधना गरी तलाउको माटोलाई प्रसादको रूपमा लिएर फर्कन्छन् । दार्चुलाबाट गएका श्रद्धालुहरुले सुर्मा देवीको पूजा गरेपछि मात्र बझाङबाट पुगेका श्रद्धालुले पूजा गर्ने चलन छ । बिरेहरू सुर्मा सरोवर जाँदा कापुचुली हिमालको आधार शिविर हुँदै पाच हजार मिटरको उचाइबाट हिँड्ने गर्छन् । त्यसपछि कालिगाड हुँदै अर्को पाँच हजार मिटरको दुबई पास भएर बिरे ओडार बस्नुपर्छ । दोस्रो दिन सरोवर पुगी पुनः बिरेओडार बसी अर्को दिन क्षेत्ति गाउँ फिर्ता हुने चलन रहेको स्थानीय नरहरि ठेकरेले बताए ।
उनका अनुसार फर्किंदा उनीहरुले ब्रह्म फूलको माला पहिरनसहित फर्किने गर्छन् । अपिहिमाल गाउँपालिका–४ खण्डेश्वरीका ज्येष्ठ नागरिक बहादुर ठेकरेका अनुसार करिब ११औं शताब्दीबाट सुर्मा भवानीको जात निरन्तर रूपमा चल्दै आएको छ । जात्राबाट क्षेत्ति र घाजिर गाउँ फर्केपछि धार्मिक अनुष्ठान र पूजा गरिन्छ । गाउमा बिरे र जत्तोर (भक्तजन) हरुले सुर्मा देवीका विभिन्न फाग, मागल गाउँदै देउडा खेल्दै राम रमिता गरिन्छ । त्यसलाई रतेडी भनिन्छ ।







Facebook Comments