काठमाडाैँ । चलचित्र ‘अभिमन्यु: च्याप्टर–१’को गीत सार्वजनिक भएको छ । ‘माली’ बोलको गीत निर्माण पक्षले सोमबार सार्वजनिक गरेको हो ।

गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । विषम आचार्यको संगीत संयोजन छ । प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएका थिए । ‘माली’मा दाजु र बहिनीबीचको निश्चल सम्बन्ध र जिम्मेवारीको कथा छ । दाजुले बहिनीलाई गर्ने मायालाई गीतमा उतार्ने प्रयास गरिएको छ । बहिनीको हाँसोमा खुसी र त्यसैमा संसार देख्ने जिम्मेवार दाजुको कथा छ । माली बनेर बहिनीको रेखदेख गर्ने दाजु र बहिनीको कथा बोलेको गीतले दर्शकको मन छुन्छ ।

रक्षाबन्धनलाई मध्यनजर गरेर गीत ल्याइएको निर्माण पक्षले जनाएको छ । गीत सार्वजनिक गर्दै निर्माण पक्षले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ । ‘हामीले यो गीतमा दाजुभाइ दिदीबहिनीले रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सेयर गर्नुहुन अनुरोध गर्छौं,’ निर्माण टीमले भनेको छ, ‘उत्कृष्ट ३ भिडियोलाई क्रमश: ५० हजार, ३० हजार र १५ हजार रकमको पुरस्कार राखेको छौं ।’

चलचित्र ‘अभिमन्यु: च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वर्ल्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । पोस्ट प्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु: च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु: च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । ‘अभिमन्यु: च्याप्टर–१’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डीओपी रहेको छ ।