
काठमाडौँ । यसअघि सन् २०१८ मा मस्कलाई दिइएको ५० अर्ब डलरभन्दा बढीको तलब प्याकेज अमेरिकी अदालतले खारेज गरिदिएको थियो । डेलावेयर अदालतले उक्त प्याकेज सेयरधनीहरूका लागि ‘अनुचित’ भएको ठहर गर्दै खारेज गरेको थियो । अदालतको सो निर्णयविरुद्ध मस्कले पुनरावेदन मुद्दा दायर गरेका छन् ।
अब २९ अर्ब डलरको नयाँ प्याकेजले मस्कलाई कम्पनीमा टिकाइराख्न प्रोत्साहन गर्ने कम्पनीका बोर्ड सदस्यहरूको अपेक्षा छ । ‘अहिले एआईमा दक्ष प्रतिभाहरू खोसा-खोस भइरहेको छ,’ कम्पनीको प्रतिकृया छ, ‘यस्तो अवस्थामा इलनलाई टेस्लामा राख्नु आवश्यक छ । उनको नेतृत्व कौशल र प्राविधिक सीप अतुलनीय छ ।’
अदालतले इलनका पक्षमा फैसला गरेर सन् २०१८ को तलब प्याकेज पुन: बहाल गरेमा मस्कले नयाँ सेयर प्याकेज फिर्ता गर्ने टेस्लाले प्रष्ट पारेको छ । यो अवस्था ‘डबल डिप’ अर्थात दुइटै सुविधा नहोस् भन्नका लागि गरिएको हो ।
बोर्डले मस्कलाई ५६ अर्ब डलर बराबरको तलब प्याकेज उपलब्ध गराउने आशा व्यक्त गरेको छ । यो अमेरिकी कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो तलब प्याकेज हुने बीबीसीले लेखेको छ । अदालतले आफ्नो तलब प्याकेज खारेज गरेर नीतिगत त्रुटि गरेको मस्को दाबी छ । उनका अनुसार तलबबारे अदालत होइन, कम्पनीका सेयरधनीहरूले निर्णय गर्नुपर्छ ।
अहिले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र भएको छ । कम्पनीहरूले एक-अर्काका कर्मचारीलाई आकर्षक तलब दिएर आफ्नो कम्पनीमा ल्याउने होड चलेको छ । फेसबुकका संस्थापक मार्क जकरबर्गले ओपनएआईका शीर्ष विकासकर्ताहरूलाई लाखौँ डलर तलबको प्रस्ताव दिएको खबर आएको थियो । माइक्रोसफ्टको एआई विभागमा पनि हालै गुगलबाट धेरै कर्मचारी आएका छन् ।
टेस्लाले अब विद्युतीय सवारीभन्दा एआई र रोबोटिक्समा केन्द्रित कम्पनी बन्ने दिशामा गएको जनाएको छ । यस्तो मोडमा मस्कको क्षमता अपरिहार्य भएको टेस्ला बोर्ड सदस्यको राय छ । मस्कले टेस्लाबाहेक एक्सएआई, न्युरालिंक र बोरिङ कम्पनीको पनि नेतृत्व गरिरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकारका रूपमा काम गरेका मस्कले अब राजनीतिबाट टाढा रहने घोषणा गरेका छन् । एजेन्सी







Facebook Comments