काठमाडौँ । दसैँको फूलपातीदेखि प्रदर्शनमा आउने फिल्म ‘बलिदान’ले ४ मुख्य कलाकार अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनको  क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । फिल्मको कथा तथा पात्र बुझाउन यो लुक्स सार्वजनिक गरिएको हो । फिल्मका निर्देशक सन्तोष सेन हुन् ।

क्यारेक्टर लुक्समा सबै पात्र फरक फरक देखिएका छन् । फिल्मको मुख्य दुई कलाकार समीर भट्ट र कविता रायको क्यारेक्टर पोस्टर केही अगाडि सार्वजनिक भएको थियो ।

पोस्टरमा ऋचा पछ्यौरा ओढेर रिसाहा भावमा देखिएकी छन् । सन्तोषको गेटअप भने डरलाग्दो छ । मानव कङ्काल (खोपडी)लाई टाउकोमा बाँधेका उनले नाकमा बुलाकी जस्तो गहना लगाएका छन् । निधारमा कालो टीका लगाएका उनको आँखामा रिसको आवेगमा देखिन्छ । पोस्टरमा सन्तोषको चित्रणले फिल्ममा उनको चरित्र प्रभावशाली रहेको संकेत गर्छ ।

त्यस्तै, पोस्टरमा अर्पण शान्त भावमा प्रस्तुत छन् । आँखामा चस्मा लगाएका उनको पहिरन शैली सम्भ्रान्त व्यक्तिको जस्तो छ । अर्का कलाकार हेमन्त बुढाथोकीको लुक्सले भने साउथ फिल्म ‘बाहुबली’का कटप्पा पात्रको झल्को दिन्छ । लामो दाह्रीमा प्रस्तुत भएका हेमन्तलाई भयभीत मुद्रामा देख्न सकिन्छ । चारवटै पोस्टरको पृष्ठभूमिमा भने आगोले निम्त्याएको विनाशको दृश्य छ ।

निर्देशक सेनका अनुसार टिजर सार्वजनिक हुनुअघि फिल्मका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने चार अनुहारलाई दर्शकसामु प्रस्तुत गरिएको हो । पोस्टर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन् ।’

यसअघि फिल्मका दुई अभिनेता सौगात मल्ल र समीर भट्टसहित अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ ।

आसुसेन फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्मातामा प्रेम पुरी छन् ।