काठमाडौँ । नायिका मिरुना मगर सफल अभिनेत्री हुन् । उनका अधिकांश चलचित्र व्यापारिक रूपमा सफल छन् । उनले अभिनय गरेकामध्ये असफलभन्दा सफल चलचित्रको संख्या धेरै छ ।

उनी चलचित्रमा स्थापित भइसकेपछिका सिनेमा भने अधिकांश सफल छन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नांगोे गाउँ’ उनका सफल चलचित्र हुन् । यी तीन सिनेमाले उनको ‘हिट’मा ‘ह्याट्रिक’ गरे । उनले अभिनय गरेका ‘रंगेली’ र ‘मनसरा’ तुलनात्मक कम सफल छन् । त्यसपछि प्रदर्शनमा आएका ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ फेरि ‘हिट’ भए ।

मिरुनाले अभिनय गरेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदा उनले फेरि दोस्रो पटक ‘हिटमा ह्याट्रिक’ गर्ने अवसर छ । तर, यो सफलताका लागि ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ व्यापारिक रूपमा सफल हुनुपर्छ ।

बलियो लाइनअप रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।  चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।