
काठमाडौं । वैकल्पिक ऊर्जा स्रोतको उपयोग र दीगो ऊर्जा विकासलाई प्राथमिकता दिँदै नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड र डोल्मा इम्प्याक्ट फण्डले ९० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा संयुक्त लगानी गर्ने घोषणा गरेका छन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड का प्रबन्धक ग्लोबल इक्विटी फण्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फण्ड अन्तर्गतको सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व प्राप्त गर्दै यो रणनीतिक लगानी अघि बढाएको हो ।
सोलार फार्म लिमिटेड नेपालकै अग्रणी अन–ग्रिड सौर्य स्वतन्त्र विद्युत उत्पादक हो, जसले तनहुँको बेलचौतारास्थित ५ मेगावाटको सौर्य प्लान्ट सञ्चालन गरिरहेको छ । यस कम्पनीले लुम्बिनी (५० मेगावाट) र बुद्धभूमि (४० मेगावाट) सौर्य परियोजना विकासका लागि बोलपत्र जितेको छ, जसको कुल क्षमता ९० मेगावाट हुनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको यो लगानीले ग्लोबल इक्विटी फण्डलाई सौर्य क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनाएको छ । यसअघि पनि उक्त फण्डले २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जीआई सोलार र अफ–ग्रिड सौर्य कम्पनी ‘घाम पावर’ लगायतका परियोजनामा लगानी गरिसकेको छ ।
फण्डका अध्यक्ष डा. मनिष थापाले भने, 'यो लगानी नेपालमा दिगो पूर्वाधार विकास प्रवर्द्धन गर्ने हाम्रो कोषको उद्देश्यसँग मेल खान्छ । सौर्य ऊर्जाले जलविद्युतलाई पूरकका रूपमा काम गर्दै ऊर्जा सन्तुलनमा महत्वपूर्ण योगदान पुर्याउनेछ, जसले आयातित बिजुलीमाथिको निर्भरता घटाउने र ग्रामीण विद्युतीकरणलाई गति दिनेछ ।'







Facebook Comments