
काठमाडौँ । ‘ऊनको स्वीटर’पछि सुनसान रहेको नेपाली फिल्मको बक्स अफिसलाई भाद्र ६ मा प्रदर्शनमा आउन लागेको माग्ने राजाले चलायमान बनाउने अपेक्षा गरिएको छ । व्यङ्ग्यात्मक शैली र हास्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेकोले फिल्म दर्शकमाझ प्रतीक्षित छ ।
ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’ले एक साधारण गाउँले युवाको धनी बन्ने सपनालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्छ । फिल्मको ट्रेलरमा केदार घिमिरे विभिन्न अवतारमा देखिएका छन् । ट्रेलर र मत सुतेर उठेको पैसामा बोलको गतिले पनि फिल्मको चर्चा चुलिएको छ ।
फिल्ममा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देलजस्ता कलाकारहरूको पनि अभिनय छ भने आर्यन सिग्देल विशेष भूमिकामा देखिनेछन् । फिल्मले विना मिहिनेत पैसा कमाउने प्रवृत्तिको आलोचना गर्दै सामाजिक सन्देश दिने निर्माण पक्षको दाबी छ ।
यही मितिमा फिल्म ‘जनै हराएको मान्छे’ पनि लाग्दैछ । हिमाल न्यौपाने निर्देशित यो फिल्मले गाउँबाट सहर पसेको एक युवाको सपना, सङ्घर्ष र सम्बन्धको कथा भन्छ । विजय बरालको केन्द्रीय भूमिका रहेको फिल्ममा केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटा जस्ता कलाकारको अभिनय छ । भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको यो फिल्मले सहरिया जीवनको यथार्थ र सम्बन्धको जटिलतालाई पर्दामा देखाउनेछ ।
त्यसैगरी भदौ ६ मै आशाान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ पनि प्रदर्शनमा आउँदैछ । यो फिल्मले सहरिया निम्नमध्यमवर्गीय परिवारको कथालाई प्रस्तुत गर्छ । आफ्नो सपना र आकाङ्क्षा पूरा गर्न सङ्घर्षरत एक अधबैँसे व्यक्तिको कथामा केन्द्रित फिल्मले मानसिक द्वन्द्व र त्यसबाट पार पाउन गरिने प्रयासलाई देखाउनेछ । निर्देशक शर्माका अनुसार गलत निर्णयले जीवनमा ल्याउने उथलपुथल र मित्रताले देखाउने सही मार्ग नै फिल्मको मूल कथा हो ।
मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का लगायत कलाकारहरूको समेत फिल्ममा अभिनय छ ।







Facebook Comments