चितवन । पछिल्लो समय निरन्तर घटेको अन्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्य समेत पाउन नसक्दा चिन्तित बनेका किसानले अन्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।

गत वर्ष प्रतिक्रेट (३० गोटा)को ५२५ रुपैयाँसम्म पुगेको अन्डाको मूल्य घटेर ३५० मा झरेको थियो । हाल मूल्य वृद्धि भएर ४५० रुपैयाँ पुगेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, आइतबारदेखि लागु हुने गरी ठूलो अन्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ४३०, मध्यमको ३८० र  ‘एक्सएल’को ४५० रुपैयाँ कायम गरिएको छ । ठूलो अन्डाको मूल्य यसअघि ३५० रुपैयाँमा झरेको थियो ।

शनिबार सम्पन्न संघको छलफलबाट अन्डाको मूल्य बढाउने निर्णय गरिएको उनले जानकारी दिए । एक्सएल अन्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) तीन हजार १४०, ठूलो अन्डा तीन हजार र मझौलाको दुई हजार ६५० रुपैयाँ कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए ।

नेपालमा अन्डाको लागत मूल्य प्रतिगोटा १६।५६ रुपैयाँ पर्न आउँछ । अन्डाको मूल्य उच्च हुँदा ठूलोको प्रतिपेटी तीन हजार ६७५ रुपैयाँसम्म पुगेको थियो ।

पोखरेलले भने, “गर्मीका कारण अन्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अन्डाको मूल्य बढेको हो ।” उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ ।

संघका सचिव मदन पोखरेलका अनुसार अन्डा उत्पादन गर्ने कुखुरा घट्ने र माग बढ्ने भइरहेको छ ।