काठमाण्डाैँ । अभिनेत्री स्वस्तिमा खड्का चलचित्र क्षेत्रमा प्रवेश गरेको एक दशक पुगेको छ । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो करिअरको एक दशक पुगेको अवसरमा सेलिब्रेट गरेको बताइन्छ ।

स्वस्तिमाले कुनै सिनेमा हलमा हात फिजाएर खिचेको फोटो सेयर गर्दै आफ्ना चलचित्र, म्युजिक भिडियोसहित विभिन्न सामग्री हेरेर साथ दिने दर्शक तथा स्रोतालाई धन्यवाद दिएकी छन्। 

उनले लेखेकी छन्- ‘पर्दाको जीवनले १० वर्षको खुड्किलो उक्लिएपछि मलाई एकपटक अडिएर पछाडि फर्किन मन लाग्यो । फर्किएर हेर्दा आनन्द लाग्यो। सिकेका कुरा, भेटेका मान्छे र भोगेका क्षणले अब आउने मेरा दशौँ वर्षलाई डोर्याउने छन्। केही नसिकी, केही नपढी म सिनेमामा आएकी थिएँ। काम र अग्रजहरूको मार्गदर्शनले मलाई सिनेमाको कखरा सिकायो। ।’

१० वर्षअघि ‘होस्टल रिटन्र्स’बाट चलचित्रमा डेब्यु गरेकी स्वस्तिमाले यसबीचमा दुई दर्जन चलचित्र र दुई सयभन्दा बढी म्युजिक भिडियामा काम गरिसकेकी छन्।