
काठमाडौं । अभिनेता धिरज मगर विरुद्ध निर्माता संघमा उजुरी परेको छ । चलचित्र ‘ऐरी’को निर्माण कम्पनी मल्टी म्याट प्रा.लिले अभिनेता मगरसँग १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँको क्षतीपूर्ती माग गर्दै उजुरी दिएको हो ।
मल्टी म्याट प्रालिका सञ्चालक कमलबहादुर आलेले दिएको उजुरीमा धिरजले सम्झौता बमोजिम काम नगरेर धोका दिएको उल्लेख छ ।
उजुरीमा भनिएको छ, ‘धिरजले फिल्मका लागि कागजी सम्झौता गरेर छायांकनमा समय दिएनन् । उनको गैरव्यवसायीक, गैरजिम्मेवार र नियतपूर्वक गरेको लापरबाहीपूर्ण व्यवहारका कारण कम्पनीलाई ठूलो क्षति पुगेको छ ।’
मगरसँग चलचित्रको निर्माण टिमले गत बर्ष चैत्र १९ गते कागजी सम्झौता गरेको थियो । मगरले सम्झौता बमोजिम अग्रिम भुक्तानी लिएपछि चलचित्रको छायांकनका लागि समय उपलब्ध गराउने बताएका थिए । तर, उनले निर्माण टिमलाई सुटिङ स्थलमा महिनौंसम्म पर्खाएको उजुरीमा उल्लेख गरिएको छ ।
यसरी लाखौं रुपैयाँ निर्माणको क्रममा र करोडौं रुपैयाँ फिल्म परियोजनाका क्रममा क्षति पुर्याएको भन्दै धिरजसँग क्षतिपूर्ति माग गरिएको हो ।
उजुरीमा चलचित्र निर्माणको क्रममा गराएको खर्च रकम ३ करोड ३१ लाख ६४ हजार ७१२, फिल्म परियोजनामा पारेको क्षतिवापत् ११ करोड ४३ लाख ८७ हजार २४१ र साइनिङ अमाउन्ट ४ लाख गरी १४ करोड ७९ लाख ५१ हजार ९५३ रुपैयाँ फिर्ता गर्न माग गरिएको छ ।
उजुरीको साथमा सम्झौता पत्र, स्वघोषणापत्र, चलचित्र निर्माणका क्रममा गराएको खर्चका विवरणहरू, चलचित्र परियोजनामा मगरले पारेको क्षतिको विवरणहरू, मगरले पेश्की लिएको कागज लगायत पत्र पनि समावेश गरिएको छ ।
यस विषयमा निर्माता संघमा बुझ्न खोज्दा अध्यक्ष नवल खड्काले उजुरी परेको पुष्टि गरे । उनले भने, ‘अब बाँकी प्रक्रियामा हामी जान्छौं ।’
अहिले मगर भने ‘मैझारो’को सुटिङका लागि पूर्वी इलाममा छन् । ‘ऐरी’मा धिरज मगर, सोनम तोप्देन लगायतका कलाकारहरुको मुख्य भूमिका छ । यस चलचित्रको केही दृश्यको छायांकन ढोरपाटनमा भइसकेको छ ।







Facebook Comments