
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास, ह्वाइट हाउसले मंगलबार आफ्नो आधिकारिक टिकटक एकाउन्ट सञ्चालनमा ल्याएको छ । यसको उद्देश्य राष्ट्रपति डोनाल्ड ट्रम्पका सन्देशहरूलाई टिकटकका १७ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरूसम्म पुर्याउनु रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
‘अमेरिका हामी फर्कियौँ ! के छ हालखबर, टिकटक ?’ यस्तो क्याप्सनसहित ह्वाइट हाउसको टिकटक एकाउन्टमा २७ सेकेन्डको भिडियो क्लिप राखिएको छ । पोस्ट राखेको एक घन्टापछि एकाउन्टमा ४ हजार ५ सय फलोअर्स पुगेका थिए । टिकटकमा ट्रम्पको निजी एकाउन्टमा भने १ करोड ५१ लाख फलोअर्स छन् । तथापी, ट्रम्पले सन् २०२४ को नोभेम्बर ५ यता टिकटकमा नयाँ पोस्ट गरेका छैनन् ।
गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई हराएर युवा मतदाताको समर्थन जित्न टिकटकले सहयोग गरेको भन्दै ट्रम्प यस भिडियो सेयरिङ एपप्रति नरम छन् ।
अमेरिकी सांसदहरूले भने टिकटकले आफ्ना प्रयोगकर्ताको तथ्यांक चीन सरकारलाई उपलब्ध गराउने भन्दै चिन्ता व्यक्त गरेका छन् । ट्रम्पले टिकटकको चिनियाँ कम्पनी बाइटडान्सबाट अमेरिकी लगानीकर्ताहरूलाई एप खरिद गराउनेबारे एउटा सम्झौता गर्ने प्रयास गरिरहेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भनेकी छन्, ‘राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई दिएका ऐतिहासिक सफलताहरू सकेसम्म धेरै दर्शक र प्लाटफर्ममा पुर्याउन ट्रम्प प्रशासन प्रतिबद्ध छ ।’
सन् २०२४ मा बनेको एउटा कानुनअनुसार बाइटडान्सले यस वर्षको जनवरी १९ सम्ममा टिकटकको अमेरिकी स्वामित्व स्थानीय लगानीकर्तालाई बेच्नुपर्ने नभए टिकटकमाथि प्रतिबन्ध लागू हुनुपर्ने थियो । ट्रम्पले जनवरी २० मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि यो कानुन लागू गरेनन् । उनले सुरुमा समयसीमा अप्रिलको सुरुसम्म, त्यसपछि जुन १९ सम्म र फेरि सेप्टेम्बर १७ सम्म बढाए ।
यो समयसीमा बढाइएकोमा केही सांसदहरूले आलोचना गरेका छन् । उनीहरूका अनुसार ट्रम्प प्रशासनले कानुनको अवज्ञा गरिरहेको छ र टिकटकमाथि चीनको नियन्त्रणसँग सम्बन्धित राष्ट्रिय सुरक्षाको चिन्तालाई बेवास्ता गरिरहेको छ ।







Facebook Comments